राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धनबाट अन्य क्लस्टरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रूकुम पश्चिम), महिलातर्फ उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी) का सावित्री मल्ल (दैलेख) र दलिततर्फ उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विश्वकर्मा (कालीकोट) विजयी भएका हुन्।

सहायक निर्वाचन अधिकृत उज्वल रावलका अनुसार रोकायाले ३ हजार ८७०, मल्लले ३ हजार ७२२ र विश्वकर्माले ३ हजार ८१७ मतभार ल्याएका छन्।

यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका प्रतिद्वन्द्वीहरू अन्य क्लस्टरतर्फका डिल्लीप्रसाद भट्ट (मुगु) ले १ हजार २१४, महिलातर्फ विमला शाही (हुम्ला) ले १ हजार ३६२ र दलिततर्फ हिक्मतबहादुर विक (दैलेख) ले १ हजार २६७ मतभार ल्याएका छन्।

सत्ता गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएका रूकुम पश्चिमका रोकाया यसअघि दुइटा आम निर्वाचनमा पराजित भएका थिए। उनी पार्टीमा प्रदेश महामन्त्री छन्।

दैलेखकी मल्ल यसअघि २०७४ को स्थानीय तह निर्वाचनबाट नारायण नगरपालिकाको उपमेयर बनेकी थिइन्। उनी अहिले नेकपा (एस) को केन्द्रीय सदस्य तथा दैलेख इञ्चार्ज छिन्।

कालिकोटका विक सुरूदेखि नै पार्टीको मोर्चा सम्हाल्दै राजनीतिमा सक्रिय रहेका थिए। उनी २०४९ को स्थानीय निकाय चुनावबाट साविक मालकोट गाविस अध्यक्ष बनेका थिए। अहिले विक माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य तथा कालिकोट इञ्चार्जको भूमिका छन्।