नेप्सेमा सूचीकृत ५५ लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार अधिकांस लघुवित्तहरुको खराब कर्जा अनुपात ह्वात्तै बढ्नाले खुद नाफामा दबाब परेको देखिन्छ ।
सेयर बजारको विश्लेषण गर्ने सफ्टवेयर स्मार्ट वेल्थ प्रोका अनुसार यस अवधिसम्म आइपुग्दा समग्रमा ५५ संस्थाको खुद नाफा ५९ करोड २९ लाख रुपैयाँ रहेको छ । जसमध्ये सबैभन्दा धेरै खुद नाफा गर्नेमा साना किसान लघुवित्त पहिलो स्थानमा पर्दछ ।
यसले ३ महिना अवधिमा ३० करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यता, निर्धान उत्थान लघुवित्तले भने सबैभन्दा धेरै १४ करोड ३० लाख रुपैयाँ बरारको घाटा व्यहोरेको छ । तथ्यांक अनुसार १८ वटा संस्थाले खुद घाटा व्यहोरेका छन् ।
खराब कर्जा अनुपात बढ्दा लघुवित्त कम्पनीहरुले थुप्रै रकम प्रोभिजन गर्नुपरेको छ । जसको सीधा असर यिनीहरुको खुद नाफामा परेको हो । यस्तो अवस्था पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा पनि देखिएको छ ।
रिपोर्ट अनुसार लघुवित्तहरुको चुक्ता पुँजी ३४ अर्ब ९६ करोड १६ लाख रुपैयाँ पुगेको छ । जसमध्ये, साना किसानको उक्त पुँजी ३ अर्ब ३३ करोड रुपैयाँ बराबर रहेको छ । दोस्रोमा छिमेकको २ अर्ब ८३ करोड र निर्धान उत्थानको २ अर्ब ६१ करोड भन्दा धेरैको चुक्ता पुँजी पुगेको छ।
यता, बीपीडब्लुको पुँजी भने ३ करोड रुपैयाँमात्र रहेको छ । यस्तै, रिजर्भ तथा सरप्लस पनि साना किसानको धेरै रहेको छ । यसको रिजर्भमा ५ अर्ब ६२ करोड रुपैयाँ छ । छिमेकको उक्त कोषमा ४ अर्ब १८ करोड छ । यता, अभियानको भने रिजर्भ तथा सरप्लस शीर्षक ऋणात्मक छ । कुल ५५ लघुवित्त संस्थाहरुको रिजर्भ तथा सरप्लसमा ३३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
यी कम्पनीहरुले १ खर्ब ६७ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् भने, ४ खर्ब २६ अर्ब ४७ करोड रुपैयाँ कर्जा परिचालन गरेका छन् । लघुवित्त संस्थाहरुले बैंक तथा वित्तीय संस्थाबाट सापट लिएर कर्जा दिने गर्छन् ।
त्यसैगरी, पहिलो त्रैमासमा यिनीहरुले ८७ करोड ७७ लाख रुपैयाँ सञ्चालन नाफा गरेका छन् । जसमध्ये केहीको उक्त नाफा ऋणात्मक छ । सबै भन्दा धेरै सञ्चालन आम्दानी साना किसान लघुवित्तको रहेको छ ।
त्यस्तै, प्रतिसेयर आम्दानी बीपीडब्लुको सबैभन्दा धेरै छ । यसको  उक्त आम्दानी ८९ रुपैयाँ १८ पैसा छ । १८ वटाको प्रतिसेयर आम्दानी भने ऋणात्मक रहेको छ
तथ्यांकमा हेरौं प्रथम त्रैमासमा कुन लघु्वित्तको अवस्था कस्तो छ ? nepalipaisa