वाग्मती प्रदेशका जिल्लाहरूमा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी)को दोस्रो डोज दिइँदै छ । जिल्लाका प्रदेशस्तरीय अस्पतालबाट यो खोप दिइँदै छ ।काठमाडौंको थापाथलीस्थित परोपकरा प्रसूति तथा स्त्रीरोग अस्पतालबाट दिइनेछ ।
गएको भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सुरु गरिएको ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोपको दोस्रो डोज ६ महिनापछि दिन लागिएको हो ।
जसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका बालिकालाई दिइनेछ ।
के हो एचपीभी खोप ?
पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप हो एचपीभी (हृयुमन प्यापुलोना भाइरस) । पाठेघरको मुखको क्यान्सर हुनमा ९० प्रतिशत भूमिका एचपीभीको हुने भक्तपुर क्यान्सर अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा.श्रृष्टि प्रजापति बताउँछिन् । त्यसैले त्यसको विरुद्घ खोप शुरु भएको हो ।
डा. प्रजापतिको अनुसार ४१ भन्दा बढी विकसित देशहरुमा खोप तालिकामा नै समावेश गरेर राखिएको छ । जसको कारण पाठेघरको मुखको क्यान्सरबाट पीडितको संख्या दिन प्रतिदिन घटिरहेको छ ।
तर नेपालमा भने अहिलेसम्म सरकारी अस्पतालहरुमा नियमित दिन सकिएको छैन । यो खोपलाई नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध नगराएसम्म प्रभावकारी नहुने विशेषज्ञहरु बताउँछन् । गएको आर्थिक वर्षमा भरतपुर क्यान्सर अस्पतालबाट केही पालिकाहरुमा दिइएको र त्योभन्दा अघिल्लो पाइलटिङ प्रोजेक्टको रुपमा कास्की र चितवनमा केही खोप दिएको खोप महाशाखा प्रमुख डा.झलक शर्मा गौतमले बताए ।
चालु आर्थिक वर्षको बजेटले पाठेघरको मुखको क्यान्सरको वर्षमा एक पटक निःशुल्क परीक्षण गर्ने व्यवस्था गर्ने र तीन प्रदेशका नौ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्घ खोप कार्यक्रम सञ्चालन गर्नेछ । त्यहि अनुरुप तयारी भइरहेको डा.गौतमले बताए । दुई नम्बर प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाबाट शुरु गर्ने उनको भनाइ छ । उनले भने, ‘हामीले यी तीन प्रदेशका नौ जिल्लाबाट शुरु गर्दैछौं । कहिलेदेखि हुन्छ भनेर अहिले नै भन्न सकिंदैन तर छिट्टै हुन्छ ।’