त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन्। उनले आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।

‘सबै कुरा त विस्तारै भनौँला, अहिलेलाई व्यक्तिगत कारण दर्शाएर राजीनामा दिएको छु। अहिले म सबै कुरा खुलाउँदिन,’ उनले राजीनामापछि  भने।

चन्द गत १३ वैशाखदेखि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारीमा थिए। स्रोतका अनुसार उनी प्रदेशको कमाण्ड गरेर जान चाहन्थे। प्रदेशको कमाण्ड नपाएपछि चन्द नेतृत्वसँग असन्तुष्ट थिए।

तर, उनले राजीनामा दिनुको कारण भने अन्य केही रहेको उनीनिकट प्रहरी अधिकारीहरू बताउँछन्। खासमा माघ १२ गते अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको झगडाको प्रतिवेदन आएदेखि नै चन्द रुष्ट थिए। विमानस्थल सुरक्षा प्रमुख भएर काम गरेका चन्द गृह मन्त्रालयले प्रतिवेदन तयार पारेपछि रुष्ट भएका हुन्।

अध्यागमन विभागका कर्मचारीलाई कारबाही नगरेर आफूमातहतका प्रहरीलाई मात्रै कारबाही गरेपछि उनी राजीनामा दिने निर्णयमा पुगेको एक प्रहरी अधिकारी बताउँछन्।

उनी अहिलेका महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याचका अधिकृत हुन्।