सन् २०२२ को फुटबल विश्वकप आयोजना गर्न खाडी राष्ट्र कतारलाई छनोट गर्दा धेरै मानिसहरु अचम्ममा परेका थिए। मानिसहरुको वास्तविक चिन्ता भनेकै ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको देशमा खेलाडी र दर्शकले कसरी तालमेल मिलाउँछन्?

यसको सटिक जवाफ, चिसो मौसममा प्रतियोगिता आयोजना गर्ने हुन सक्छ। तर अथाह सम्पत्ति भएको यो देश परम्परागत विधिलाई पछाडी पार्दै प्राविधिक मामिलामा अगाडि बढेको छ। संसारका सबैभन्दा गर्मी देशहरूले पनि वर्षको जुनसुकै समयमा पनि खेलकुद कार्यक्रमहरू आयोजना गर्न सक्छन् भन्ने कतारले प्रमाणित गरेको छ। यद्यपि कतारी फुटबल खेलाडीहरु सो क्षेत्रका खेलाडीका लागि गर्मी र आर्द्रता सबैभन्दा ठूलो चुनौती रहेको बताउँछन्।

त्यसोभए प्रश्न यो छ कि कतारले वातावरणलाई नोक्सान नगरी खेलाडी र दर्शकलाई सहज सुविधा कसरी दिइरहेको छ?यहाँ कतारका ८ खेल स्थलहरुमध्ये एक अल जैनाब स्टेडियममा हावाको बहाव कसरी नियन्त्रण गरिएको छ भन्ने कुरा थाहा पाउनुहोस्।

कतारमा गर्मी र आर्द्रताको कुरा सामान्य छ। सानो यो देशमा तातो समुद्री हावा चल्छ।पहिलो चुनौती तातो हावा बाहिर निकाल्नु हो। अल जैनाब स्टेडियमको छत यसरी डिजाइन गरिएको छ कि हावा घुमेर छतको बाहिरी भागबाट बाहिरिन्छ। यसको हल्का रङले सूर्यबाट आउने तापलाई फिर्ता पठाउँछ।

मैदान र रंगशाला चिसो राख्न अन्य केही व्यवस्था पनि गरिएको छ।

खेलको दिन स्ट्यान्डमा ४० हजार दर्शकको उपस्थिति हुन्छन्। यी मध्ये प्रत्येक गर्मी र आर्द्रताको स्रोत हुनेछ।

कतारको तापक्रम र कार्यक्रम स्थलमा उत्पन्न हुने गर्मी दुवैबाट राहत दिन प्रभावकारी कुलिंग सिस्टम आवश्यक छ।

स्ट्यान्डमा रहेका फुटबल दर्शकहरूले प्रत्येक सिटमुनि भेन्टबाट चिसो हावा पाउछन्।

तातो हावा साना नोजलहरूको शावरको माध्यमबाट दर्शकहरूमा पुग्नबाट रोक्छन्।

यसले चिसो हावा दिन्छ। विमानमा टाउको माथिको नोजलबाट यसरी नै चिसो हावा दिइन्छ।

यसले दर्शकलाई त फाइदा हुन्छ तर मैदानमा खेल्ने खेलाडीलाई के होला?

आधुनिक फुटबलरहरू एक खेलमा १० किलोमिटर दौड्छन्। उनीहरुको शरीरबाट करिब तीन लिटर पसिना निस्कन्छ, त्यसैले शरीरलाई चिसो राख्न र पानीलाई कायम राख्न आवश्यक हुन्छ।

कतारको आर्द्र हावापानीमा, पसिना सुक्न गाह्रो हुन्छ, जसले शरीरलाई धेरै तातो र थकान महसुस गर्न सक्छ।

तसर्थ, कतार विश्वकपमा चिसो हावा जमिनमा ठूला नोजलहरू मार्फत प्रवाहित गरिएको छ ताकि चिसो हावाको सतह जमिनमाथि रहिरहोस्।

यो प्रणाली विकास गर्ने एयर कन्डिशनिङ्ग विशेषज्ञ डा. सउद अब्दुल घानीले चिसो हावा प्रवाह गर्ने प्वालहरू खेलाडीले छिट्टै महसुस नगर्ने गरी बनाइएको बताएका छन्।

अर्थात्, रंगशाला भित्र चिसो हावाको बबल बन्दछ, जुन मैदान वा रंगशालाबाट दुई मिटरभन्दा बढी अग्लो हुदैन। अब प्रश्न यो छ कि अब के हुन्छ?

चिसो हावा जब जब तातो हुन थाल्छ, त्यसलाई मैदानको बीचमा रहेको फ्यानको सहायताले बाहिर निकालिन्छ।

यसपछि यही प्रक्रिया दोहोरिन्छ र रंगशालामा फेरि चिसो बबल बन्दछ। यसरी चक्र पूरा हुन्छ।
यसरी हावा चिसो राख्दैमा रंगशाला चिसो हुन्छ?

रंगशालाको प्रत्येक कुनामा रहेको चिसो पानीले भरिएको पाइपको सहायताले तातो हावालाई चिसो राखिन्छ।

चिसो पानी तातो भएपछि फेरि ४० हजार लिटर क्षमताको ट्याङ्कीमा भरिन्छ। यसलाई तीन किलोमिटर टाढा राखिन्छ, जहाँ यसलाई फेरि चिसो गरी अर्को खेलमा प्रयोग गरिन्छ।

कतारको राजधानी दोहाबाट ८० किलोमिटर टाढा निर्माण गरिएको सोलार पावर प्लान्टबाट सम्पूर्ण कुलिङ सिस्टम सञ्चालित छ।

डाक्टर कुल

यो सम्पूर्ण प्रणाली तयार गर्दा डाक्टर साउद अब्दुल घानीले कतारले लामो समयसम्म प्रभावकारी साबित हुने विरासतका रूपमा प्रणाली बनाउन चाहेको बताएका थिए।

उनले वर्षौंको व्यापक अनुसन्धानपछि यो सहज व्यवस्था गरिएको जानकारी दिए, जुन धेरैजसो मानिसलाई रमाइलो लागेको छ। कतारमा सन् २०१९ विश्व एथलेटिक्स च्याम्पियनसिपका क्रममा खेलाडीहरूसँगको अन्तरक्रियाले पनि विश्वकपमा खेलाडी र दर्शकहरूलाई थप फाइदा पु¥याउन यसको डिजाइनलाई परिष्कृत गरेको छ।

के यो व्यवस्था दिगो छ ?

कतार २०२२ आयोजकहरूले वाचा गरेका छन् कि सम्पूर्ण स्टेडियम चिसो गर्ने प्रक्रियाले थप ग्रीनहाउस ग्यास उत्सर्जन हुनेछैन, किनकि यसको लागि बिजुली सौर्य ऊर्जाबाट ल्याइएको छ।

यद्यपि, थप महत्वाकांक्षी लक्ष्य पूरै प्रतियोगितामा कार्बन उत्सर्जनलाई रोक्नु हो।

रंगशालाको तयारीका क्रममा आयोजनास्थलमा रहेको कार्बनको मात्रामध्ये ९० प्रतिशत कार्बन उत्सर्जन हुन्छ, जसलाई कार्बन सिक्वेस्ट्रेसन भनिन्छ। सो अवधिमा करिब आठ लाख टन ग्रीनहाउस ग्यास उत्सर्जन भएको अनुमान गरिएको छ। अमेरिकी वातावरण संरक्षण एजेन्सीको उत्सर्जन क्याल्कुलेटरको अनुमान अनुसार कारमा ८० हजार पटक विश्व घुम्दा यति धेरै कार्बन उत्सर्जन हुन्छ।

विश्वकपमा रंगशाला बाहेक यातायात पनि बढेको छ। विश्वभरका फ्यानहरू हवाई यात्राबाट कतार पुगेका छन्।

फिफाले प्रतियोगिता आयोजनाको सीमित क्षेत्र र एक ठाउँबाट अर्को ठाउँको छोटो दूरीका कारण सन् २०१८ मा रुसको प्रतियोगिताको तुलनामा कतारमा एक तिहाइ कार्बन मात्रै उत्सर्जन हुने जनाएको छ।

कतारको न्यूनतम कार्बन उत्सर्जन गर्ने वाचाबाट अहिलेसम्म उत्सर्जित कार्बनको प्रभावलाई कम गर्ने प्रयास भएको छ।

यो कसरी हासिल हुन्छ भन्ने अझै स्पष्ट छैन। विश्वकपमा कार्बन उत्सर्जन घटाउन ऊर्जाको राम्रो प्रयोग, फोहोर व्यवस्थापन, नवीकरणीय ऊर्जा र वृक्षारोपण जस्ता विभिन्न प्रविधिको प्रयोग भएको फिफाले जनाएको छ।

रंगशाला निर्माणका लागि कतारमा तीस हजार आप्रवासी कामदारले काम गरेका थिए, जसमा ठूलो संख्यामा मजदुरको मृत्यु भएको थियो वा गम्भीर घाइते भएका थिए। यस विषयमा कतारको आलोचना भएको थियो। यस अवधिमा जबरजस्ती श्रम, अस्वच्छ कामको अवस्था, कम घरबास, तलब नपाएको र राहदानी जफत गरेको आरोप पनि सार्वजनिक भएका थिए।

यद्यपि कतार सरकारले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। कतार सरकारले आप्रवासी कामदारलाई राम्रो सुविधा दिने व्यवस्था सन् २०१७ मा थालेको थियो, जसअनुसार काम गर्ने घण्टा सीमित र असहनीय गर्मीबाट जोगाउन सुविधा बढाइएको थियो। अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्कअनुसार २०२१ को विश्वकपसँग सम्बन्धित परियोजनाहरूमा ५० कामदारको मृत्यु भएको छ भने कम्तीमा ५०० जना गम्भीर घाइते भएका छन्। यस विषयमा पनि कतार सरकारमाथि प्रश्न उठिरहेको छ।