एको एक महिनादेखि विश्वका अधिकांश शेयर बजार गुलजार छन्। शेयर कारोबार मापक सूचक बढेका मात्रै छैनन्, कुनै देशका सूचकले नयाँ रेकर्ड नै कायम गरेका छन्।विश्व शेयर बजारका प्रभावशाली मानिने ४६ सूचकमा ३९ सूचक बढेका छन्। गएको एक महिना अघिको बिन्दु भन्दा ०.९२ प्रतिशतदेखि २५.६६ प्रतिशतसम्म बढेका छन्। विश्व शेयर बजारका सूचकहरू प्रकाशित गर्ने इभेष्टिङ डट कमका अनुसार सबैभन्दा धेरै टर्कीको शेयर कारोबार मापक सूचक बढेको छ।
गएको एक महिनामा टर्कीको बिस्ट १०० सूचक २५.६६ प्रतिशतले बढेको छ। बिस्ट १०० सूचक गएको एक वर्षदेखि नै बढ्दो लयमा छ। उसले एक वर्षमा मात्रै १७४.३९ प्रतिशतको छलाङ मारेको छ। गएको एक महिनामा १८.२४ प्रतिशत उक्लदै हङकङको सूचक सबैभन्दा बढ्ने सूचीको दोस्रो स्थानमा छ। ३९ वटा सूचकमा सबैभन्दा कम ०.९२ प्रतिशत बढ्दै थाइल्यान्डको एसइटि बढ्ने सूचिको पुछारमा परेको छ।
विश्व बजारमा परेको आर्थिक प्रभावका बीच धेरै देशका शेयर बजार खुम्चिएका थिए। कोभिडपछि रुस र युक्रेन युद्धले विश्व अर्थतन्त्रमा निक्कै ठूलो प्रभाव पारेको थियो। आर्थिक सङ्कटका कारण मुद्रास्फीति बढ्दै जाँदा अमेरिकादेखि युरोप, युरोपदेखि एशियासम्मका केन्द्रीय बैंकहरुले माग पक्ष घटाउन भन्दै ब्याजदर बढाउने नीति अघि सारेका थिए। त्यसपछि नै विश्व शेयर बजार सुस्ताएको थियो। निक्कै लामो समय सुस्ताएको शेयर बजार गएको एक महिनादेखि बौरिन थालेका छन्। पछिल्लो समय अर्थतन्त्रमा परेको प्रभाव कम हुँदै गएको कारण शेयर बजारहरू पुनः चम्किन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
गएको ६ महिनामा ३९ सूचकमध्ये आठ सूचकले ६ महिनायताकै उच्च विन्दु कायम गरेका छन् भने एक वर्ष यताकै उच्च विन्दु कायम गर्ने सूचक १२ छन्। ९ वटा सूचक तीन वर्ष यताको सबैभन्दा माथिल्लो विन्दुमा उक्लिएको इन्भेष्टिङ डट कमले जनाएको छ।
लामो समयदेखि सुस्ताएका विश्व शेयर बजारका सूचक बौरिएका मात्रै छैनन्, छिमेकी राष्ट्र भारतको शेयर कारोबार मापक सूचक बिएससि सेनसेक्सले अहिलेसम्मकै अल टाइम हाइ रेकर्ड नै बनाएको छ। शुक्रबार मात्रै बिएससी सेनसेक्सले ६२ हजार २९३.६४ अंक छुँदै अल टाइम हाइको रेकर्ड बनाएको हो। बिएससीसँगै भारतको अर्को प्रमुख सूचक निफ्टिले समेत नयाँ रेकर्ड कायम गर्यो। शुक्रबार नै निफ्टि १८ हजार ५१२.७५ अंकमा उक्लिँदै नयाँ रेकर्डमा उक्लिएको हो।
तर यही बीचमा नेपालको शेयर बजार पनि ९१ अंकले बढेको छ। गएको एक महिना अघि १८७४.८८ अंकमा रहेको नेप्से आइतबार १९६५.९८ अंकमा उक्लिएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपाली बजारमा नपर्ने भएपनि विश्व आर्थिक मन्दी कम हुँदै छ भन्ने जनाउका कारणले गर्दा पनि शेयर बजार सुधार तर्फ लम्किएको बताइएको छ। “अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने नीति लिए लगत्तै त्यसो प्रभाव विश्व शेयर बजारमा तुरुन्तै देखियो। अमेरिकी सूचकदेखि हङकङसम्मका सूचक भोलिपल्टै घटे। भारतसम्म पनि त्यसको प्रभावमा पर्यो र पर्छ। तर त्यही दाँजोमा नेपालको शेयर बजारमा पर्दैन। तर यति भन्दा भन्दै के बुझ्नु पर्ने हुन्छ भने, नेपालमा पनि ब्याजदर बढेको छ। मुद्रास्फीति बढेको छ। त्यो आन्तरिक कारणले मात्रै परेको होइन। त्यसमा बाह्य कारण बढी छन्। जब बाह्य कारणले त्यस्तो भएको हो भने अब बढेको विश्व शेयर बजारले बाह्य क्षेत्र ट्र्याकमा आउँदैछ भन्ने जनाउ दिन्छ। त्यसकारण बाह्य क्षेत्रको असर कम हुनु भनेको नेपालमा पनि त्यसको असर कम हुनु हो। जसको प्रभाव बिस्तारै नेपाली शेयर बजारमा पनि पर्न थालेकोको रुपमा यसलाई बुझ्नु पर्ने हुन्छ,” नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले भने।
अर्को तर्फ बैंकमा निक्षेप बढ्दै जानु तर भनेजस्तो कर्जा नजानुको स्थितिले पनि आउने दिनमा बैंकले ब्याजदर घटाउने छन् भन्ने सम्भावना रहेकोले गर्दा पनि पछिल्लो समय शेयर बजार पोजेटिभ देखिएको रानाभाटको भनाई छ।
merolagani