बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनले सुनुवाइ गर्दै छ।
यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ ।
स्मरणीय छ कि, गौशाला २६ को जन्ममिति जिल्ला अदालतले नै निरुपण गरिसकेको विषय हो । जन्ममितिसँग सम्वन्धित सारा कागजातहरु पहिल्यै अदालतमा आइसकेका छन् । वडाबाट फेरि तिनै कागजात मगाउनुको उद्देश्य फैसला टार्नेभन्दा अर्को नरहेको सन्दीप पक्षको बुझाइ छ ।
सन्दीप पक्षका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बहसका लागि आफूहरू अहिले उच्च अदालत पाटन जाने तयारी गरिरहेको जानकारी दिए।
‘आज फाइनल हुनुपर्छ भन्ने हाम्रो माग छ’, उनले सोमबार बिहान नेपालखबरसँग भने, ‘कि जेल पठाउनुपर्यो, कि खेल्न पठाउनुपर्यो, अस्तिकै पेसीमा फाइनल गर्नुपर्थ्यो, अदालतले अनावश्यक प्रमाण झिकाउन भन्यो।’