जिल्ला अदालत काठमाडौंले  क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ।अदालतले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको अदालतका सूचना अधिकारी चन्द्र पन्थीले जानकारी दिए।

‘प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४को दफा २१९को उपदफा ३को ङ बमोजिम आठ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना ३ लाख र थप दुई लाख रकम क्षतिपूर्ति प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ दिने ठहर्छ,’ उनले भने।

बुधबार बहस गर्नेक्रममा पीडितको तर्फबाट बहस गर्दै वकिलहरूले मुलुकी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १५(२) (ङ) अनुसार डेढी सजायको माग गरेका थिए।उनी राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहिसकेकाले पदको दुरूपयोग गरी बलात्कार गरेको भन्दै डेढी सजायको माग गरेका थिए।

क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंले सुनाएको फैसलाविरुद्ध उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज घिमिरेले फैसलाप्रति आफ्नाे पक्ष असन्तुष्ट रहेको बताए ।

जिल्ला अदालतमा पत्रकारहरुसँग कुरा गर्दै उनले कुनै पनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको तर्क गरे । न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको उनको भनाइ थियो ।

सम्मानित जिल्ला अदालतको फैसलालाई आफूहरुले मान्नुपर्ने बाध्यता भएकाले मात्रै सजाय निर्धारण सम्बन्धि बहसमा आफूहरुले भाग लिएको घिमिरेले स्पष्ट पारेका छन् ।

घिमिरेको भनाइ यसप्रकार छः
‘हामी सन्दीप लामिछाने शुरुवातीका दिनदेखि निर्दोष हो भन्ने मान्यता राख्छौं । र ऊ पनि आफू निर्दोष छु भन्ने कुरामा पूर्ण विश्वस्त छ । हामीलाई सम्मानित अदालतको स्वतन्त्र, निष्पक्षमा अटल विश्वास छ । र, त्यो हुँदाहुँदै पनि सम्मानित अदालतले गरेको दोषी ठहर गर्ने जुन फैसला गरेको छ, त्यसमा हाम्रो गम्भीर आपत्ति छ । फैसलालाई च्यालेन्ज गर्ने हाम्रो अधिकारको उपयोग गर्नेछौं ।

कुनै पनि वस्तुगत आधार, प्रमाणहरुले दोषी नदेखिँदा नदेखिँदै पनि सन्दीप लामिछाने दोषी करार भएको अवस्था छ । यो सजाय र फैसला पूर्वाग्रही भयो । न्यायालयले फैसला सुनाउँदाखेरी कुनै आधार र प्रमाण लिएको हुनुपर्ने हो । त्यो गरिएको छैन । त्यसमा हाम्रो आपत्ति र डिसेन्टिङ ओपनियन छ । हामी माथिल्लो अदालतमा गएर त्यसलाई च्यालेन्ज गर्छौं ।

हामी दोषी होइनौं, हाम्रो पक्ष दोषी होइन । सन्दिप लामिछाने आफैंले आफू निर्दोष रहेको कुराको दलिल गरेको छ । कुनैपनि कुराको आधार, कारण, प्रमाणहरुले सन्दीप दोषी देखिँदैनन् । तर अदालतले दिएको आदेश फेरी हामीले मान्नुपनि पर्नेहुन्छ । त्यसलाई अन्यथा भन्नका लागि हामी उच्च अदालत गएर नै दाबी गर्छौ । दोषी भएको कुरामा हामीलाई विश्वास भएन ।’