योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरुले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।
मंगलवार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित समारोमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सो कुरा जानकारी गराएका हुन । उनले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरुका श्रीमान–श्रीमति र १८ वर्ष नकेटाका उनीहरुका छोराछोरीहरुका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिए।
उनले कोषमा सोमवारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आवद्ध भएको जानकारी गराउँदै आवद्ध हुने श्रमिकको संख्या निरन्तर वृद्धि भइरहेको बताए । उनले कोषले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबी बापत कोषले ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको बताए ।
उनले कोष कोषको दायरा बिस्तारका लागि कोषको केन्द्रिय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको समेत जानकारी दिए । यही आर्थिक वर्षभित्र कर्णाली प्रदशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको बताउँदै सात वटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चि गर्ने उनको भनाइ छ ।
कार्यकारी निर्देशक अधिकारीले भने,‘औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आवद्ध भइसक्नुभएको छ । वैदेशिक रोजगारमा जाने अथवा स्वदेशमा रहेका १२ लाख ५० हजार श्रमिकहरु औपचारिक तथा अनौपचारिक श्रमिकहरुसहित १७ लाख ९४ हजार सात सय ४० श्रमिकहरु कोषमा आवद्ध भइसकेको अवस्था छ । यो हिजोको तथ्यांक हो । त्यसैगरी कोषले सञ्चालन गरिरहेका सुरक्षा योजनाहरु अन्तर्गत योगदानकर्तालाई सुविधा दिने कार्य निरन्तर रुपमा अगाडि बढिरहेको छ । आजसम्म कोषले सञ्चालन गरेका औषधिउपचार तथा मातृत्व योजनामा तीन लाख ७४ हजार एक सय वटा दाबी बापत एक अर्ब ४८ करोड १९ लाख ८ हजार, दुर्घटना तथा अशक्त सुरक्षा योजनामा सात हजार एक सय १७ वटा दाबी बापत १५ करोड २० लाख र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत पाँच सय ८७ श्रमिकका परिवारलाई १८ करोड ५४ लाख र वृद्धा अवस्था सुरक्षा योजना अन्तर्गत ९ अर्ब ८० करोड गरि ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको अवस्था छ । विश्वका असल अभ्यासहरुलाई आत्मसाथ गर्दै कोषले सामाजिक सुरक्षाको प्रभावकारीतालाई मध्यनजर गर्दै अगाडि बढिरहेको छ । पहिले वैदेशीक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अहिले उनीहरुका श्रीमान, श्रीमति र १८ वर्ष नकेटाका छोराछोरीहरुले समेत अहिले उपचार थप गरिएको व्यहोरा जानकारी गराउँदछु । कोषको दायरा बिस्तारका लागि कोषको केन्द्रिय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको छ । यसै आर्थिक वर्षभित्र कर्णाली प्रदशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको छ । जसले गर्दा सात वटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चि हुनेछ । ’
उनले कोषमा हालसम्म अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालको संख्या ९० रहेको बताए। उनले कोषका सम्पूर्ण सेवाहरुलाई अनलाइन प्रक्रियामा लैजाने प्रक्रिया अन्तिम चरणमा रहेको पनि बताए।-merolagaani