सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कर बापतकाे रकम तिर्नु नपर्ने भएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गरी कम्पनीले घोषणा गरेको बोनस शेयरको कर बापतकाे रकम कम्पनी स्वंयमले तिर्ने जानकारी दिएको हो ।
कम्पनीले आइतबार साधारण सभाको सूचना प्रकाशित गर्दै ११ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । बोनस शेयर बापत् तिर्नुपर्ने कर बापतकाे नगद लाभांश घोषणा नभएपछि सामाजिक सञ्जालमा कम्पनीको व्यापक आलोचना भएको थियो । कम्पनीले प्रेस विज्ञप्ति मार्फत स्पष्ट पार्दै आयकर ऐन २०५८ को दफा ५४ (३) बमोजिम कर कट्टी पछि प्राप्त लाभांश आम्दानीबाट लाभांश वितरण गर्दा पुनः कर तिर्नु नपर्ने प्रावधान रहेको छ ।
सोही प्रावधान अनुरुप अघिल्लो साधारण सभामा बोनस शेयर बापत करको लागि छुट्याइएको रकम नै आगामी साधारणसभा स्वीकृति हुने बोनस शेयरको कर तिर्न समेत पर्याप्त हुने हुँदा बोनस शेयर बापतकाे रकम शेयरधनीले नभई कम्पनीआफैले तिर्ने स्पष्ट पारेको हो । कम्पनीले ११ प्रतिशत बोनस शेयर जारी गरेपछि कायम रहेको चुक्ता पुँजीको ५४.५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत साधारण सभामा पेश गरेको छ ।