केहि समय अघि मात्रै आइपीओ जारी गरेको सोनापुर मिनिरल्समा यतिबेला लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। पछिल्लो समय लगातार बढ्दो क्रममा रहेको कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण पनि बढ्दै गएको छ।

सोनापुर मिनिरल्सले मूल्यमा शिवम् सिमेन्टलाई पनि पछि पारिसकेको छ। बुधबार शिवम् सिमेन्टको शेयरमूल्य ५२० रुपैयाँ ५० पैसा कायम भएको छ तर सोनापुर मिनिरल्सको शेयरमूल्य ५२७ रुपैयाँ पुगेको छ।हाल नेप्सेमा ३ वटा सिमेन्ट कम्पनी सूचीकृत रहेकोमा मूल्यका आधारमा शिवमलाईपछि पारिसकेको छ भने घोराही सिमेन्टलाई पनि उछिन्ने क्रममा देखिएको छ। घोराही सिमेन्टको शेयरमूल्य हाल प्रतिकित्ता ५३६ रुपैयाँ रहेको छ जुन सोनाको तुलनामा ९ रुपैयाँ मात्रै धेरै हो।

हरेक दिन सोनापुर सिमेन्टको उच्च कारोबार हुँदै आएको छ। नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सोनापुरको सबैभन्दा धेरै शेयर कारोबार भइरहेको छ। यसले गर्दा पनि सोनापुर मिनिरल्सकाे शेयरमा आकर्षण रहेको देखाउछ।

  • मूल्य निरन्तर बढ्दै

कम्पनीको शेयरमूल्य लगातार बढ्दो क्रममा छ। सूचीकृत हुँदा केहि बिक्री चाप भए पनि अहिले लगातार खरिद चाप देखिएको छ।

प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आइपीओ जारी गरी नेप्सेमा सूचीकृत भएको सोनापुर मिनिरल्सको शेयरमूल्य दोस्रो बजारमा सूचीकृत भएको केहि समयमा नै घटेर आईपीओ मूल्य भन्दा पनि तल झरेको थियो। कम्पनीको शेयरमूल्य प्रतिकित्ता २३० रुपैयाँसम्म झरेको थियो।

प्रतिकित्ता २३० रुपैयाँदेखि उच्च करोबारका साथ बढ्न थालेको कम्पनीको शेयर मूल्य अहिले पनि सोहि क्रममा बढीरहेको छ। बुधबार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५२७ रुपैयाँ पुगेको छ। जुन न्यून विन्दुबाट १३० प्रतिशतको बृद्धि हो।

आईपीओ खरिद गर्ने लगानीकर्ताले पनि अहिले १२२ प्रतिशत नाफा कमाइसकेका छन्। सुरुमा सिमेन्ट कम्पनीहरुमा सबैभन्दा सस्तो शेयर रहेका कारण लगानीकर्ताहरु सोनापुर मिनिरल्समा झुम्मिएका थिए। तर पछिल्लो समय भने कम्पनीले राम्रो लाभांश वितरण गर्ने हल्ला पनि लगानीकर्ताहरुमा छ। यस वर्ष सोनापुरले अन्य कम्पनीहरुले भन्दा बढी लाभांश वितरण गर्ने भन्दै लगानीकर्ताहरु सो कम्पनीको शेयरमा झुम्मिएका छन्।

  • अन्य सिमेन्ट कम्पनीभन्दा राम्रो हो?

नेप्सेमा ३ सिमेन्ट कम्पनी सूचीकृत भएपनि अहिले लगानीकर्ताकाे सबैभन्दा धेरै आकर्षण सोनापुर मिनिरल्समा नै देखिएको छ। तर आधारभूत रुपमा हेर्ने हो भने शिवम् सिमेन्टको अवस्था अन्य दुईको भन्दा राम्रो देखिन्छ। शिवम् सिमेन्टको लक इन पिरियस खुलिसकेकोले सप्लाई धैरै छ। यसले गर्दा लगानीकर्ताको आकर्षण शिवममा कम छ।

सोनापुरले अहिलेसम्म त्रैमासिक वित्तीय विवरण प्रकाशित नै गरेको छैन। हरेक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भए पनि उसले सो नियम उलंघन गरी वित्तीय विवरण लुकाएको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक विवरण मात्रै प्रकाशित गरेको छ। त्यस यताको विवरण सार्वजनिक नै गरेको छैन।

कम्पनीले आईपीओ जारी गर्ने समयमा सार्वजनिक गरेको विवरण हेर्दा प्रतिशेयर आम्दानीको आधारमा दोस्रो स्थानमा छ भने नेटवर्थ सबैभन्दा थोरै छ।

नेटवर्थका आधारमा भने घोराही सिमेन्ट सबैभन्दा अघि छ। उसको प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५६ पैसा रहेको छ। जबकी शिवम् सिमेन्टको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा र सोनापुर मिनिरल्सको १४९ रुपैयाँ ८१ पैसा रहेको छ।

शिवम् सिमेन्ट र घोराही सिमेन्टले यस वर्ष १५ प्रतिशत लाभांश दिने निर्णय गरिसकेका छन्। तर सोनापुरको भने घोषणा हुन बाँकी छ।

तीन सिमेन्ट कम्पनीमा शिवम् सिमेन्टको चुक्ता पूँजी सबैभन्दा धेरै ५ अर्ब २ करोड रुपैयाँ छ। कम्पनीको संस्थापक शेयरको लक इन पिरियड खुलिसकेकोले सबै शेयर दोस्रो बजारमा कारोबार हुन्छ।

यस्तै घोराही सिमेन्टको चुक्ता पूँजी ४ अर्ब ५६ करोड रुपैयाँमा छ भने जसमा ९१ लाख ३५ हजार ३७१ कित्ता शेयर सर्वसाधारणमा छ।

सोनापुर मिनिरल्सको चुक्ता पूँजी ३ अर्ब ७ करोड रुपैयाँ छ भने १ करोड २३ लाख कित्ता शेयर सर्वसाधारणमा रहेको छ।

  • सोनापुरको व्यवसाय

सोनापुर मिनरल्स एण्ड आयल प्राईभेट लिमिटेडले दाङ्ग जिल्ला, तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा अवस्थित ८६ बिघा जमिनमा फैलिएको प्लान्टले २०६९ साल जेठ महिनादेखि क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ। यसको उत्पादन दायराले ग्राहकको विकासशिल आवश्यकता अनुसार ओपिसी र पिपिसी समावेश गरेको छ।

त्यस्तै कम्पनीले प्रदेश ५ दाङ्ग जिल्लाको बङ्गलाचुली गाउँपालिका (उत्खनन स्थल) को ४.१६५ वर्ग किलोमिटर क्षेत्रमा चुनढुङ्गाको उत्खनन कार्यका लागि खानी तथा भुगर्भ विभागबाट २०६७ पुस २७ गतेको प्राप्त अनुमति पत्रबाट २०६७ पुस २७ गतेदेखि २०९७ पुस २६ गतेसम्म बहाल रहने गरी अनुमति प्राप्त गरेको छ। कम्पनीले रोल्पा जिल्लाको रुन्टीगडढी गाउँपालिका (उत्खनन् स्थल) को ४.५० वर्ग किलोमिटर र ३ वर्गकिलोमिटर क्षेत्रमा चुनढुङ्गा उत्खनन् कार्यका लागि खानी तथा भुगर्भ विभागबाट क्रमश २०६७ पुस २७ गते र २०६६ पुस ९ गते अनुमति प्राप्त गरेको थियो।

कम्पनीको ओपिसीको वार्षिक क्षमता १ लाख ७२ हजार ७२ मेगाटन, पिपिसीको वार्षिक क्षमता ५ लाख ४९ हजार ४८० मेगाटन, पिएससीको वार्षिक क्षमता ४९ हजार ९२४ मेगाटन, र क्लिङ्कर (बिक्री) को वार्षिक क्षमता २ लाख १३ हजार ३५७ मेगाटन तथा विद्युत शक्ति २२ हजार के.भी.ए. रहेको छ।

उद्योगको कुल लागत ८ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले १४ करोड ३९ लाख ६५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८ पैसा रहेको छ।

त्यसैगरी, कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब १२ करोड ५९ लाख रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ। भने प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५८ पैसा पुग्ने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा ५.२१ प्रतिशत रहेको कम्पनीको नेटवर्थमा प्रतिफल चालु आर्थिक वर्षको ८.७२ प्रतिशत पुग्ने प्रक्षेपण कम्पनीको रहेको छ।