जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किदैछ।

टोली आज बिहान ९ बजे काठमाडौं अवतरण गर्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ। टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अघिकारीले जानकारी दिए।

सभामुख सहितको टोली गत बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको थियो। सभामुख घिमिरेको टोली स्वीट्जरल्याण्ड उडेपछि प्रतिनिधि सभा बैठक १० दिन रोकिएको छ।

घिमिरेको नेतृत्वमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई रहेका छन्।

यस्तै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार रहेका छन्। साथै राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासे पनि सो टोलीमा गएकी थिइन्।

सभामुख सहितको टोलीको जेनेभा भ्रमणका कारण प्रतिनिधि सभाको बैठक चैत १८ गतेसम्मका लागि स्थगित गरिएको छ।

सभामुख घिमिरे उपसभामुखलाई संसद् चलाउने अधिकार नदिई बैठक नै स्थगन गरेर स्वीट्जरल्याण्ड गएको भन्दै आलोचना भइरहेको छ।