साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने संस्था ‘ह्याकरवन’ ले आयोजना गरेको ‘एम्बास्डर वर्ल्डकप २०२३’ को सेमिफाइनलमा नेपालले आफ्नो स्थान सुरक्षित गरेको छ । नेपाली ह्याकरहरुको समूहले अमेरिकी ह्याकरहरुको समूहलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि नेपाली समूहले अब स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
गत मार्च १३ देखि २७ सम्म २९ राष्ट्रका ह्याकरहरुको समूहबीच भएको समूह चरणको प्रतिस्पर्धामा नेपालले पाकिस्तानलाई पराजित गर्दै दोश्रो चरणका लागि स्थान सुरक्षित बनाएको थियो । मे २ देखि १६ गतेसम्म दोश्रो चरणको प्रतिस्पर्धामा साउदी अरेबियालाई पराजित गर्दै नेपालले ८ टिम सम्मिलित तेश्रो राउण्ड इलाइट एट (क्वाटरफाइनलमा) प्रवेश गरेको थियो ।
इलाइट एटमा अमेरिकी समूहलाई पराजित गर्दै नेपालले फाइनल फोर (सेमीफाइनल) मा स्थान बनाएको नेपाली ह्याकरहरुको समूह ‘टिम नेपाल’ का लिडर आनन्द ढकालले नेपाली पैसालाई जानकारी दिए । आगामी सेप्टेम्बर २६ देखि अक्टोबर १० सम्म हुने फाइनल फोर प्रतिस्पर्धामा नेपालले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले सेमिफाइनलमा जीत निकालेको खण्डमा उपाधिका लागि इजराइल र पेरिसबीचको विजेतासँग आगामी नोभेम्बरमा अर्जेन्टिनामा फाइनल प्रतिस्पर्धा गर्नेछ । २६ सदस्यीय नेपाली ह्याकरहरुले समूहले भर्चूअल माध्यमबाट प्रतिस्पर्धा गरिरहेको छ । प्रतियोगितामा ह्याकरहरुको टोलीले कुनै सिस्टममा भएको समस्या (बग) पत्ता लगाउनु पर्छ । जुन समूहले तोकिएको समयमा सबैभन्दा बढी कमजोरी पत्ता लगाउँछ त्यो समूह विजेता हुन्छ ।