चितवनमा आत्महत्या न्यूनिकरणका लागि संचारकर्मीहरुलाई ‘सुसाईड रिपोर्टिङ”सम्वन्धी गाईडलाईनको बारेमा एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज (मंगलबार) नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बागमती प्रदेश हेटौंडाको आयोजनमा आत्महत्या रोकथाम सम्बन्धी संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा आत्महत्या बढ्नुको कारण र यस्तो अवस्थामा देखिने समस्या, आत्महत्याको व्यवहारमा असंवेदनशिल रिपोर्टिङले पार्ने नकरात्मक र संवेदनशिल रिपोर्टिङले पार्ने सकरात्मक प्रभाव बारेमा छलफल गरिएको हो ।
स्वास्थ्य निर्देशनालय हेटौंडाका डा. अर्जुन पौडेलले आत्महत्या आँफैमा अत्यन्तै संवेदनशिल बिषय भएकाले बेलैमा ध्यान पुर्याएमा आत्महत्या रोगथाम गर्न सकिने बताए ।उनले आत्महत्या सम्बन्धी सञ्चार माध्यममा आउने जिम्मेवारपूर्ण रिपोर्टिङ्गले देखासिकी गरेर हुने आत्महत्याको जोखिम बढाउने हुँदा यस्ता विषयमा बढी ख्याल गर्नुपर्ने बताए ।
डा. पौडेलले, भने ”जोखिममा रहेका व्यक्तिहरूले आत्महत्याको देखासिकी गर्ने सम्भावना बढी हुन्छ। कहिलेकाहीँ प्रख्यात व्यक्तिहरुका आत्महत्या सम्बन्धी समाचारहरू लामो समयसम्म सञ्चार माध्यममा दोहोरिरहन्छन् । जसका कारण यस्ता समाचारहरुले पार्न सक्ने जोखिम लामोसमय सम्म रहिरहन सक्छ ।”आत्महत्याको जिम्मेवारीपूर्वक रिपोर्टिङ्ग गर्दा जनमानसमा आत्महत्या र यसको रोकथामका बारेमा सही सूचना पुग्ने, आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई वैकल्पिक समाधानका उपाय अपनाउन प्रेरित गर्ने र आत्महत्याको बारेमा धेरै भन्दा धेरै खुलेर आशापूर्ण छलफल गर्न प्रोत्साहन गर्दछ ।
कार्यक्रममा बोल्दै मेन्टल हेल्थ अफिसर डा.अनुप बिक्रम बिसीले अहिले नेपालमा मात्रै नभएर विश्वभरनै आत्महत्याको घटना बढ्नु चिन्तनको बिषय भएको बताए ।मानिसहरुले अनुवंशिक, मनोवैज्ञानीक, सामाजिक, पारिवारिक वातावरणका कारण आत्महत्या गर्ने गरेको उनले बताए । यसको लागि आत्महत्या गर्ने कारण पहिचान गरी रोकथाममा लाग्नुपर्नेमा जोड दिदै आत्महत्या न्युनिकरणका लागि मिडियाको महत्वपूर्ण भूमिका हुने हुँदा आत्महत्या घटनाका कस्ता खालका समाचारलाई कसरी सम्प्रेशन गर्ने, कस्ता बिषयलाई हाईलाइट गर्ने भन्ने बारे ध्यान दिन जरुरी रहेको उनले बताए ।
त्यस्तै भरतपुर अस्पतालका डा. प्रज्वल श्रेष्ठले मानसिक समस्या र यसको न्यूनीकरणका विषयमा ध्यान दिनुपर्ने भन्दै सुझवा दिएका थिए ।
नेपाल प्रहरीको तथ्याङ्ग अनुसार नेपालमा गत आर्थिक बर्ष २०८०-८१ को एक बर्षको अवधिमा ७ हजार २२३ जनाले आत्महत्या गरेका थिए ।नेपालमा दैनिक सरदर २० जनाको आत्महत्याबाट मृत्यु हुन्छ । विश्वभर मृत्यु हुने प्रमुख कारणहरूमध्ये आत्महत्या पन्ध्रौं प्रमुख कारणको रूपमा रहेको छ ।हरेक १ जनाको आत्महत्याबाट भएको मृत्युले कम्तिमा १३५ जनालाई प्रत्यक्ष असर पार्ने र हरेक आत्महत्या पछाडि २०-२५ पटक प्रयास हुन्छ भन्ने तथ्याङ्ग रहेको छ ।
नेपाल सरकारले आत्महत्या न्यूनिकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। आत्महत्या रोकथामका लागि २४ सै घण्टा निस्शुल्क परामर्श दिन राष्ट्रिय हेल्पलाईन ११६६ सञ्चालनमा रहेको छ।