नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिको तयारीमा जुटेका छन् । अघिल्लो वर्षहरुमा कसिलो नीति लिएका गभर्नर अधिकारीले यो पटक लचिलो नीति लिने योजना बुनेका छन् । कसिलो नीतिले अर्थतन्त्रमा बाह्य क्षेत्र सहज भए पनि बैंकहरुको कर्जा प्रवाह, आयात निर्यात, सरकारी राजस्व भने घटेको छ ।
कर्जा विस्तार हुन नसक्दा अर्थतन्त्रमा सुस्तता छाएको छ । यसले पनि लचिलो मौद्रिक नीति ल्याउनुपर्ने दबाबमा गभर्नर रहेका छन् । लचिलो नीति लिनका लागि आवश्यक सूचकहरुले पनि साथ दिएको छ । तरलता सहज अवस्थामा छ । ब्याजर घटेको छ भने रेमिटेन्स बढेको छ । शोधनान्तर अवस्था र विदेशी मुद्रा सञ्चिति पनि निकै राम्रो अवस्थामा रहेका छन् ।
यता, गभर्नर अधिकारीले पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा पनि विगतमा आफूले नै कसेको मौद्रिक उपकरणलाई अगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत थप खुकुलो बनाउने संकेत गरिरहेका छन् । यसले अगामी वर्षको मौद्रिक नीति खुकुलो र लचिलो हुने भनिरहेका छन् ।
 बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था भए पनि कर्जा प्रवाहमा खासै सुधार हुन सकेको छैन । कर्जा प्रवाह बढाउने दायित्व केन्द्रीय बैंकसँग छ । यसर्थ, थप लचिलो नीति लिएर कर्जा प्रवाह बढाउने सोचमा केन्द्रीय बैंक रहेको छ ।
कठोर नीतिकै कारण सेयर बजार चलायमान हुन सकेको छैन । सेयर बजारमा सुधार नभएसम्म आन्तरिक अर्थतन्त्रले गति लिन नसक्ने जानकारहरु बताउँछन् । यसका लागि पनि  केन्द्रीय बैंक केही न केही गर्नुपर्ने दबाबमा पर्दै आएको छ ।
केन्द्रीय बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपाल अगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो बनाउनुपर्ने बताउँछन् । आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि मौद्रिक नीति लचिलो हुनुपर्ने उनको तर्क छ । ‘केन्द्रीय बैंक मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत लचिलो बन्दै गएको छ’ उनले भने, ‘आगामी दिनमा पनि थप लचिलो बन्दै जानुपर्छ ।’
चालु खाता बचत र विदेशी मुद्रा सञ्चितिले केन्द्रीय बैंकलाई लचिलो मौद्रिक नीति ल्याउन सहज अवस्था रहेको उनको भनाई छ । पछिल्लो समय बैंकहरुमार्फत कर्जा विस्तार हुन सकेको छैन । फलस्वरुपः अर्थतन्त्रमा संकुचन देखिएको उनले बताए । यसतर्फ केन्द्रीय बैंक सचेत हुनुपर्नेमा पूर्वगभर्नर नेपालले जोड दिएका छन् ।
कर्जा प्रवाह अपेक्षा अनुसार बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता रहेको छ । पछिल्लो समय ६ खर्बभन्दा धेरै अधिक तरलताको अवस्था रहेको छ । उक्त तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई हम्मेहम्मे परेको छ ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ६२ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा ५१ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । सीडी रेसियो ७९.७७ प्रतिशत छ । अन्तर बैंक ब्याजदर ३ प्रतिशत छ । यसले अहिले समग्रमा बैंक तथा वित्तीय संस्थाहरु कर्जा दिन सहज अवस्थामा रहेको देखाउँछ ।
यता, अर्थविद् तथा पूर्वअर्थसचिव रामेश्वर खानाल भने अहिले नै केन्द्रीय बैंकले कर्जा प्रवाह बढाउनका लागि लचिलो नीति लिन मिल्ने अवस्था नआएको बताउँछन् । आन्तरिक अर्थतन्त्र सहज बनाउनको लागि केही लक्षित नीति लिए पनि लचिलो नीति भने लिन नहुने उको भनाई छ ।
 ‘बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था छ’ उनले भने, ‘यस्तो अवस्थामा लचिलो नीति लिनुहुन्न् ।’ उनले अहिले कर्जाको ब्याजदर एकल अंकमा आएको भन्दै नीतिगत दरमा लचिलो बन्न नहुने बताए ।

nepalipaisa