प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्म दिने आमालाई सम्मान गरी मनाइने मातृ औँसी अर्थात आमाको मुख हेर्ने पर्व आज (बुधबार) देशभर आमालाई मीठामीठा खानेकुरा दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा पनि उल्लेख गरिएको छ। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ। वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए।

प्रत्येक वर्ष वैशाखकृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने अर्थात् मातृ सम्मान दिवसका अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्दछ।

मातातीर्थमा स्नान गर्नेको घुइँचो

मातातीर्थमा स्नान गर्नेको घुइँचो

स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ ।

कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान गरेमा पुण्य हुने विश्वास छ । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।

धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

आज विशेष रूपमा आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने परम्परा छ ।