भरतपुरमा आजदेखी “औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” शुरु भएको छ ।भरतपुर भ्रमण वर्ष-२०२४ लक्षित प्रदर्शनी तथा मेला महोत्सव अन्तर्गत चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा मेला भएको हो ।

स्वदेशी उत्पादनको बजारीकरण गरी प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि सहयोग पु¥याउने उद्देश्यका “औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” शुरु भएको आयोजकले जनाएको छ । चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानले विश्वमा नै आर्थिक मन्दी देखिएको वर्तमान समयमा औद्योगिक उत्पादनको खपतमा गिरावट आईरहेको र अधिकांश उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगिसकेको र सञ्चालनमा रहेका उद्योगहरु समेत अत्यन्त न्यून क्षमतामा सञ्चालित भएकाले उद्यमशिलताको अस्तित्व नै संकटमा पर्ने देखिएको बताए ।
मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले ”देशमै औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्ने बताए । मन्त्री भण्डारीले साना तथा मझौला उद्योगहरुको बजार मागमा आएको उच्च कमीका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि उचित नीति बनाई कार्यान्वयन गराउनको लागि आफूहरु तयार रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक, मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, कम्प्युटर एसोशिएसन नेपाल महासंघका अध्यक्ष रन्जित कुमार पोदार, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल, उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी लगायतले प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरेको थियो ।
प्रदर्शनीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोग रहेको छ । भने प्रदर्शनीमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायतबाट स्टलको सहभागिता रहेको छ ।
प्रदर्शनी अन्तर्गत कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनसँगको सहकार्यमा “चितवनको सम्बृद्धि सूचना प्रविधि” भन्ने मुल ध्येय राखी “छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” आयोजना गरिएको छ । प्रदर्शनीमा आईटी सेमिनारका माध्यमबाट नविनतम् प्रविधिको प्रयोगको लागि उत्प्रेरित गरिनेछ । प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदर सहित किस्ताबन्दीमा ल्यापटप तथा मोवाइल खरिद गर्न पाईने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको एक्सचेन्ज तथा निःशुल्क मर्मत सेवा, विभिन्न ब्राण्डका स्मार्ट इन्टरएक्टिभ बोर्डहरुमा विशेष छुट लगायतका सुविधा तथा सहुलियत प्रदान गरिनेछ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा आउन चाहने अवलोकनकर्ताहरुलाई अनलाइन रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाईको छ ।

यसरी अनलाइटबाट रजिष्ट्रेशन गरी प्रदर्शनी अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत आज पहिलो दिन कुपन नं. १५ प्रथम, कुपन नं. १ दोश्रो र कुपन नं. १० तेश्रो हुन सफल भएका छन् । प्रथम पुरस्कार प्राप्त गर्ने एक जोडीको लागि क्षेत्रीय होटल संघ, सौरहाले सौराहाको होटलमा बसाई र बिहानको नास्ता, चितवन उद्योग संघको पदाधिकारीबाट जिप सफारी, दोश्रो पुरस्कारको रुपमा चितवन उद्योग संघको संयोजनमा प्रदर्शनी हल एमा रहेका प्रदर्शकहरुका उत्पादनहरु र तेश्रो पुरस्कारको रुपमा आयोजक संस्था कम्प्युटर एशोसिएशसन महासंघ चितवन शाखाको तर्फबाट आकर्षक गिफ्टहेयाम्पर प्रदान गरिएको प्रदर्शनी तथा व्यवसाय प्रर्बद्धन विभागका संयोजक दिनुप कुमार बरालले जानकारी दिए ।
पाँँच दिनसम्म चल्ने उक्त प्रदर्शनी तथा मेलामा २५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । ७० लाख रुपैयाँ अनुमानित खर्च लाग्ने उक्त प्रदर्शनी तथा मेलामा नि:शुल्क प्रवेशको व्यवस्था रहेको बताइएको छ ।
नवीनतम प्रविधि प्रदर्शन गर्ने र सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।