नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएको दुईवटा बसमा ६५ जना यात्रु रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

बागमती प्रदेशको १५१६ नम्बरको बसमा ४१ र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजलले बताए ।
बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।
यद्यपि बसमा सवार व्यक्तिको संख्या अझ आधिकारिक थाहा नभएको डिएसपी रिजालले जानकारी दिए । उनका अनुसार बसमा सवार यात्रुको अझै उद्धार गर्न समस्या भइरहेको छ ।
कालिखोलामा पहिरो गएकोले बाटो अवरुद्ध छ । प्रहरीसहितको गोताखोर टोलीले अहिले एकतर्फी बाटो खुलाउने प्रयास गरिरहेको छ । डिएसपी रिजालका अनुसार चाँडै बाटो एकतर्फी सञ्चालन गरेर उद्धार कार्य अघि बढाइने छ ।
रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बसका तीन जना यात्रुहरुले पनि हामफालेर ज्यान जोगाएका छन् ।
सो घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत दुःख व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल क्षेत्रमा सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

घटनास्थलका तस्वीरहरू (सबै तस्वीरहरू : एपीएफबाट)