मोरङमा दुई बालिका मृत अवस्थामा फेला परेका छन्। सुन्दरहरैँचा नगरपालिका–७ निवासी अर्जुन कार्की र अस्मिता पौडेल (कार्की)का १ वर्षीया छोरी अर्पणा र ३ वर्षीया आयिका घर नजिकै केराघारीभित्र मृत फेला परेका हुन्।

‘उनीहरुको शव शनिबार साँझ भेटिएको ,जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने। ‘आमा २९ वर्षीया अम्मिता बेपत्ता छिन्। बुवासँग हामीले सोधपुछ गरिरहेका छौँ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी छ।’
मृत भेटिएका दुई बालिकाका बुवा अर्जुनले पति-पत्नीबीच झगडा भएपछि शुक्रबार राति करिब साढे ८ बजेतिर अम्मिता दुई छोरीलाई लिएर घरबाट निस्किएको बयान दिएका छन्।
‘उनले यसअघि पनि आफूहरुबीच घर झगडा हुँदा पत्नीले घर छाडेर हिँड्ने गरेको बताएका छन्,’ डीएसपी बस्नेतले भने, ‘उनैले घरबाट निस्किएका पत्नी र छोरीको खोजी गर्ने क्रममा शनिबार साँझ शव फेला परेको हो।’
घर नजिकै स्थानीय नारायण न्यौपानेको केराको बगैँचाभित्र दुई बालिकाको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले बालिकाका बुवा अर्जुनलाई निगरानीमा राखेर घटनाको अनुसन्धान अघि बढाएको छ।
