नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कुशासनको एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताएका छन्। बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुलुकमा अनियमितता, बेथिति र कुशासन व्याप्त रहेको बताउँदै उनले मन्त्री, सांसद र कर्मचारी प्रवेश गर्ने सिंहदरबारको दक्षिण गेटमा जनताको भीड र लाइनतर्फ सरकारको ध्यानाकर्षण गराए।
‘अहिलेको ठूलो समस्या भनेको कुशासन हो, कुशासनको एउटा जिउँदो नमुना सिंहदरबारको गेटमा देखिन्छ,’ ज्वालाले भने, ‘मन्त्री, सांसद, कर्मचारी प्रवेश गर्ने दक्षिण गेटमा जनताको भीड र लाइनतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु। मन्त्रालय जति सिंहदरबारभित्र थुपार्ने, सिंहदरबारलाई ४ दिबार र फलामे गेटले घेरेर जेलजस्तै बनाउने अनि जनतालाई प्रवेश निषेध गर्ने कार्य स्वीकार्य छैन। मन्त्रीहरू कालो सिसा भएको गाडीमा भित्र पस्ने, जनता घाममा पसिना चुहाउँदै पासका लागि गेटबाहिर तड्पिनुपर्ने, यो अवस्थाको अन्त्य गरियोस्।’
त्यस्तै उनले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पढाउन खोजेको हो भन्दै प्रश्न समेत गरे। ‘यति बेला देशमा अनियमितता, बेथिति, कुशासन व्याप्त छ,’ ज्वालाले भने, ‘सरकारी कार्यालयहरूमा ढिलासुस्ती र खुलेआम घुसखोरी छ। प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पढाउन खोजेको हो? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति तुरुन्त सार्वजनिक गरियोस्।’ – nepalkhabar