भारत जापानलाई पछि पार्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको नीति आयोगले जनाएको छ । भारत सरकारको सार्वजनिक नीति सम्बन्धी प्रमुख थिंक ट्यांक नीति आयोगका प्रमुख कार्यकारी अधिकृत (सीइओ) बी भी आर सुब्रह्मण्यमले शनिबार भारतको अर्थतन्त्रको आकार ४० खर्ब डलर नाघिसकेको र अहिले विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको बताएका हुन् ।
आइएमएफको तथ्यांक उद्धृत गर्दै सुब्रह्मण्यमले भारत अहिले अर्थतन्त्रमा जापानभन्दा ठूलो भएको बताएको भारतीय पत्रिका बिजनेस स्टान्डर्डले लेखेको छ । अहिले भारतभन्दा ठूला (अर्थतन्त्र) अमेरिका, चीन र जर्मनी मात्र छन् र यदि हामीले अहिले तय गरिएको योजना अनुसार अगाडि बढ्यौं भने, आगामी २.५ देखि ३ वर्षभित्र भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नेछ, सुब्रह्मण्यमले भने ।
सुब्रह्मण्यमले भारतको अनुकूल भूराजनीतिक तथा आर्थिक परिस्थितिहरुलाई श्रेय दिँदै आगामी ३ वर्षभित्र तेस्रो स्थानमा पुग्न सक्ने प्रक्षेपण गरेका हुन् । यो आर्थिक फड्को मुख्य क्षेत्रहरुमा देखिएको मजबुत वृद्धिदर, निरन्तर विदेशी लगानीको प्रवाह, र सरकारद्वारा समर्थित औद्योगिक रणनीतिहरुको पृष्ठभूमिमा आएको हो । भारत र जापान महिनौंसम्म कुल गार्हस्थ उत्पादन (जीडीपी) मा निकै नजिक रहेका थिए । तर हालैको तथ्यांकले भारतको अग्रता पुष्टि गरेको छ ।









