संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दैछ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन्। जेठ १५ गते अर्थमन्त्रीलाई बजेट प्रस्तुत गर्न दिएका माओवादीसहितका विपक्षी दलले त्यसयताका बैठक चल्न दिएका छैनन्।
प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको छ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।
त्यसैगरि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूचीसमेत छ।
प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आए पनि राष्ट्रियसभाको बैठक भने विनाअवरोध सञ्चालनमा छ।











