२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिकभएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० नतिजा प्रकाशित गरेको हो । नतिजाअनुसार ६१.८१ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
नतिजअनुसार ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।
त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् ।
गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।
यसरी हेर्न सकिन्छ नतिजा
एसइईको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट थाहा पाउन परीक्षा नियन्त्रण कार्यालयले शिक्षा मन्त्रालयको वेबसाइट www.moest.gov.np, शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइट www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np बाट नतिजा हेर्न सकिने जनाएको छ । यस्तै, नेपाल टेलिकमका ग्राहकले १६०० डायल गरी वा एनसेल र टेलिकम दुवैका ग्राहकले १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिन्छ ।










