२०८२ कार्तिक २१ शुक्रबार
२०८२ कार्तिक २१ शुक्रबार

नेपाली युवाले बनाए हातमै अट्ने वायु प्रदूषण मापन उपकरण, ४१ लाखको काम ३५ हजारमै

सैनिक आवासीय महाविद्यालय पढ्दा सक्रिय पाण्डेको प्रायः ध्यान विद्यालय नजिकै रहेको वायु प्रदूषणको स्टेसनमा जान्थ्यो । जहाँ वायु प्रदूषण मापनका लागि ठुलो डिभाइस राखिएको थियो । त्यसलाई अपरेट गर्न पनि गाह्रो हुन्थ्यो ।

उक्त डिभाइसलाई हेरेर आफैँले भविष्यमा सानो त्यस्तै खालको डिभाइस बनाउने बारे सोच्थे उनी । १९ वर्षीय पाण्डेले अहिले भने वायु प्रदूषण मापन गर्ने सस्तो र सहजै बोक्न सकिने सानो मोनिटरिङ डिभाइस तयार गरिसकेका छन् । उनले अन्य तीन जनासँग मिलेर ‘वायुदृष्टि’ नामक स्टार्टअप नै सुरु गरेर वायु गुणस्तर मापन डिभाइस बनाएका हुन् ।

वायुदृष्टिमा सक्रियकै दिदी श्रीशा पाण्डे (२३), मञ्जिला पाण्डे (२१) र विक्रम थापा (२५) संलग्न छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सक्रियले सम्हालेका छन् भने श्रीशाले फाइनान्स र मार्केटिङ, मञ्जिलाले टेक्नोलोजी र विक्रमले रिसर्चको जिम्मा लिएका छन् ।

उनीहरू चार जना मिलेर करिब डेढ वर्ष पहिले ‘वायुदृष्टि एयर मोनिटरिङ डिभाइस’ तयार पारेका हुन् । यो डिभाइस हत्केलामा नै अट्ने आकारको छ । यसको डिस्प्लेबाट रियल टाइममा वायु प्रदूषणको अवस्थाबारे जानकारी लिन सकिन्छ ।

डिभाइसमा कपिराइट एल्गोरिदम प्रयोग गरिएको छ । स्याटलाइटको डेटालाई ग्राउन्ड डेटा (जमिनमा राखिएका डिभाइसबाट प्राप्त डेटा)सँग मर्ज गरेर एउटा डिभाइसबाट १० वर्ग किलोमिटर क्षेत्रफलको प्रदूषण सम्बन्धी डेटा दिन सक्ने सक्रियको दाबी छ ।

उनका अनुसार हाल नेपालमा प्रदूषण र मौसम सम्बन्धी जानकारीका लागि प्रयोग गरिँदै आएका डिभाइसले एक वर्ग किलोमिटरसम्मको डेटामात्र प्रदान गर्न सक्छन् । यी डिभाइसहरू ३० हजार अमेरिकी डलर (४१ लाख रुपैयाँ) सम्म पर्ने भएकाले निकै महँगो समेत हुने गरेका छन् ।

वायुदृष्टि एयर मोनिटरिङ डिभाइस अन्यभन्दा निकै सस्तो पनि पर्छ । यस डिभाइसको शुल्क २५० अमेरिकी डलर (लगभग ३५ हजार रुपैयाँ) बाट सुरु हुन्छ । उक्त डिभाइसले पानी पर्ने सम्भावना, हावाको बहाव दिशा र गतिको मापन तथा पूर्वानुमान गर्न सक्छ । डिभाइसले दिने डेटाको प्यारामिटर अनुसार शुल्क महँगो हुँदै जाने उनले बताए ।

यस्तै, एक हप्तासम्मको मौसम सम्बन्धी पूर्वानुमान र वायु प्रदूषणको अनुमान गर्न सक्छ । जङ्गलमा आगो लाग्ने सम्भावनाका बारेमा समेत जानकारी दिने गरेको छ ।

सातै प्रदेशको वायु प्रदूषण सम्बन्धी लाइभ डेटा वेबसाइटमा

वायुदृष्टिको वेबसाइटबाट नै नेपालका सातै प्रदेशको प्रदूषणसँग सम्बन्धित डेटा निःशुल्क हेर्न सकिने व्यवस्था मिलाइएको छ । नेपालबाहेक भारत र पाकिस्तानका शहरहरूको पनि डेटा देखाउँदै आएको उनले बताए । भारतको दिल्ली, मुम्बई, अमृतसर, बैङ्गलोर, कानपुर र लखनउ तथा पाकिस्तानमा लाहोर, कराँची, फैसलाबाद अन्तर्राष्ट्रिय विमानस्थल, इस्लामाबाद र पेशावरमा पनि वायु प्रदूषणको अवस्था वेबसाइटबाट हेर्न मिल्छ ।

प्रदूषण सम्बन्धी जानकारी हेर्न वेबसाइट भिजिट गर्नेको सङ्ख्या पनि राम्रो रहेको उनी सुनाउँछन् । उनले भने, “मासिक ९८ हजार भिजिटर सम्म पुगेको रेकर्ड छ ।” दैनिक एक हजारको हाराहारीमा वेबसाइट भिजिटर रहेका छन् । आफ्नो वेबसाइटमा नेपालमा भन्दा पनि भारतबाट धेरै भिजिटर रहेको उनले बताए ।

यस्तै, कुन स्तरको वायु प्रदूषणले कस्तो स्वास्थ्य समस्या निम्त्याउँछ भन्ने जानकारी पनि वेबसाइटमार्फत दिइन्छ । आफ्नो स्थानको वायु प्रदूषणको अवस्था हेरेर मास्क प्रयोग गर्ने/नगर्ने, आउटडोर क्रियाकलाप गर्न उपयुक्त हुन्छ कि हुँदैन, प्युरिफायर प्रयोग गर्ने, व्यायाम गर्ने/नगर्ने र बालबालिका तथा ज्येष्ठ नागरिकलाई कसरी बचाउने भन्ने जानकारी वेबसाइटबाट दिइन्छ ।

स्थानीय तहले पनि मौसमसम्बन्धी जानकारीका लागि आफ्नो डिभाइस राख्न चासो देखाएको उनले बताए । यस्तै, जल तथा मौसम विभाग र वातावरण विभाग लगायतका अन्य सरकारी निकायहरूसँग मिलेर काम भइरहेको छ । विश्व बैंकले पनि आफ्नो डिभाइस राखेको उनले सुनाए ।

यूएस ईपीएबाट डिभाइस प्रमाणीकरण

वायुदृष्टिको प्रणालीलाई यूएस ईपीएबाट अनुमोदन प्रदान गरिएको छ । पाण्डेका अनुसार मोनिटरिङ डिभाइस तयार पारेपछि नेपाल सरकारबाट प्रमाणीकरणको प्रयास गरिएको थियो । तर नेपालमा यस्ता डिभाइसहरूको लागि प्रमाणीकरणको स्पष्ट फ्रेमवर्क नभएपछि समस्या भएको थियो । त्यसपछि अमेरिकी दूतावासको सहयोगमा यूएस ईपीएबाट प्रणालीको मापदण्ड पूरा गर्ने प्रमाणीकरण गरिएको हो । उक्त प्रमाणीकरणलाई नेपाल सरकारले पनि स्वीकार गरेको छ ।

वायुदृष्टि टोलीले वायु प्रदूषणले मानव स्वास्थ्यमा पारेको प्रभावको बारेमा विश्लेषण गर्न एआई प्रणाली पनि तयार पारेको छ । यसले फोक्सोको एक्स-रे फोटो विश्लेषण गरी प्रदूषणले पारेको असर देखाउने मेडिकल चार्ट र विश्लेषण गर्छ । महाराजगञ्जस्थित मेडिकल कलेजका विद्यार्थीलाई यसको बारेमा जानकारी गराउँदै तालिमसमेत प्रदान गरिएको थियो ।

वायु प्रदूषणबारे सचेतना दिन ‘वायु सेना’

वायु प्रदूषणको अवस्था नेपालमा गम्भीर रहेको पाण्डे बताउँछन् । “नेपालमा प्रत्येक हप्ता करिब ९०० देखि १००० व्यक्तिको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको तथ्याङ्क छ । यसलाई सरकार र नागरिक दुवैले गम्भीरतापूर्वक लिनुपर्छ ।” वायु प्रदूषणका बारेमा जानकारी दिनका लागि ‘वायु सेना’ तयार पार्ने काम पनि गरिरहेको उनले बताए ।

यसका लागि विभिन्न विद्यालयमा निःशुल्क सचेतना कक्षाहरू सञ्चालन गर्दै आएको छ । सचेतना कक्षामा वायुको गुणस्तरको बारेमा जानकारी दिनुका साथै गुणस्तरीय वायुसहितको वातावरण सिर्जनाका लागि युवालाई अग्रसर बनाउने गरिएको छ । सचेतना कक्षामा राम्रो प्रदर्शन गर्ने विद्यार्थीलाई मेडल प्रदान गरेर प्रोत्साहनसमेत गरिन्छ ।

क्राउडफन्डिङमार्फत लगानी जुटाउने योजना

वायुदृष्टि एयर मोनिटरिङ डिभाइस नेपालमै तयार पारिएको पाण्डेले बताए । डिभाइसका लागि आवश्यक पर्ने सेन्सरहरू भने चीनबाट आयात गरिन्छ । अन्य कच्चा पदार्थहरू पनि आयात गरिन्छ र नेपालमा एसेम्बल गरेर डिभाइस तयार पारिएको उनले बताए ।

यो डिभाइसलाई धेरैले रुचाएकाले अन्य डिभाइस पनि ल्याउने तयारीमा कम्पनी रहेको उनले सुनाए । कम्पनीले एयर प्युरिफायर र एआईमा आधारित प्रदूषण पूर्वानुमान गर्ने प्रणाली तयार गरिरहेको छ ।

हाल कम्पनी बुटस्ट्र्याप गर्दै चलिरहेको उनले बताए । उनले भने, “अब भने कम्पनीले अलि अलि मुनाफा गर्न थालेको छ ।” अब क्राउडफन्डिङमार्फत लगानी जुटाउने योजना रहेको उनले सुनाए ।-techpana

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।