कम्प्युटर निर्माता मेनगियरले १९९० को दशकको स्लिपर पीसीको डिजाइनमा अत्याधुनिक स्पेसिफिकेसन भएको रेट्रो ९५ नामक नयाँ डेस्कटप कम्प्युटर बजारमा ल्याएको छ । सीआरटी मनिटर, गेम खेल्दा डिस्क साट्ने दिनहरू, विन्डोज ९५, फ्लपी डिस्क, डायल-अप इन्टरनेट र ल्यान पार्टीको अनुभवलाई मिस गर्नेहरूलाई लक्षित गर्दै यो कम्प्युटर सार्वजनिक गरिएको हो ।
रेट्रो ९५ एउटा प्रिबिल्ट अर्थात् एसेम्बल गरिएको डेस्कटप पीसी हो, जुन हेर्दा १९९० को दशकका कम्प्युटरहरू जस्तै देखिन्छ । यो सिल्भरस्टोन एफएलपी ०१ (SilverStone FLP01) पीसीकै केसको नक्कल हो, जुन सुरुमा एउटा अप्रिल फुलको मजाकको रूपमा आएको थियो । तर पछि वास्तविकतामा परिणत भएको थियो ।
यसको अगाडि भागमा दुई ओटा फ्लपी ड्राइभ जस्तै देखिने स्लटहरू छन् । तर, तीमध्ये एउटा केवल देखावटी हो र यसले एउटा वैकल्पिक २४x डीभीडी-आर ड्राइभ लुकाउने र देखाउने काम गर्छ । अर्को फ्लपी ड्राइभले भने एउटा लुकेको फ्रन्ट-प्यानल आई/ओ लुकाएको छ, जसमा हेडफोन ज्याक, यूएसबी-सी पोर्ट र दुई ओटा यूएसबी-ए पोर्टहरू छन् ।
यसमा पावर र डिस्क एक्टिभिटी एलईडीका साथै पावर र रिसेट बटनहरू पनि छन् । यसमा केवल ‘टर्बो बटन’ को कमी छ ।
बाहिरबाट पुरानो देखिए पनि यो पीसी भित्रबाट अत्याधुनिक कम्पोनेन्टहरूले भरिएको छ । यसमा एएमडीको Ryzen 7 9800X3D, RTX 5080 ग्राफिक्स कार्ड, ९६ जीबी र्याम र ८ टीबी एनभीमी स्टोरेज जस्ता विशेषताहरू छन् ।
रेट्रो ९५ सिल्भरस्टोनको एफएलपी ०१ मा आधारित छ । तस्विरः मेनगियर रेट्रो ९५ सिल्भरस्टोनको एफएलपी ०१ मा आधारित छ । तस्विरः मेनगियर
यी आधुनिक कम्पोनेन्टहरूलाई चिसो राख्नका लागि मेनगियरले उत्कृष्ट कुलिङ पर्फर्मेन्स र कम आवाजका लागि नक्टा फ्यान प्रयोग गरेको छ । साथै पर्याप्त भेन्टिलेसन पनि उपलब्ध छ, जसले थर्मल थ्रोटलिङ हुन दिँदैन ।
बजारमा उपलब्ध मेनगियरको रेट्रो ९५ को सुरुवाति मूल्य १,५९९ अमेरिकी डलर (करिब २ लाख १९ हजार रुपैयाँ) तोकिएको छ । यो सीमित मात्रामा मात्र उपलब्ध हुनेछ ।
यो उत्पादन विशेष गरी ती प्रयोगकर्ताहरूका लागि हो, जसले विगतको कम्प्युटर युगको नोस्टाल्जियालाई आधुनिक कम्प्युटिङको शक्तिसँग जोड्न चाहन्छन् । यो एउटा यस्तो कलाकृति हो, जसले इतिहास र भविष्यलाई एकै ठाउँमा ल्याउँछ ।-techpana









