२०८२ पुष १ मंगलवार
२०८२ पुष १ मंगलवार

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएको उनले बताए । सोही अवधिमा वन्यजन्तुको आक्रमणबाट ४१ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते ३२ र सामान्य घाइते नौ जना छन् ।

वन्यजन्तुबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न र निगुरो टिप्न गएका व्यक्ति छन् । बाघ, गैँडा, हात्ती, जंगली बँदेल, मगरगोही, गौरी गाईलगायत वन्यजन्तुको आक्रमणबाट मानिसहरूको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो पाँच वर्षमा जङ्गली जनावरको आक्रमणबाट ७३ जनाले ज्यान गुमाइसकेका छन् । सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परी १६९ जना घाइते भएका छन् । उनका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा आव २०७८/२०७९ मा सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए । सो वर्ष बाघको आक्रमणबाट मात्रै २१ जनाको मृत्यु भएको थियो ।

मध्यवर्ती क्षेत्रका बासिन्दाहरू निकुञ्ज तथा सामुदायिक वनको अनुमति लिएर घाँस दाउराका लागि जाने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुंगानाले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको वासस्थानलाई व्यवस्थित गर्नुपर्ने बताए । निकुञ्जले जनचेतनामूलक कार्यक्रमसहित मेस जाली लगाउने काम गरिरहेको जनाएको छ ।

वन्यजन्तुको आक्रमणबाट एक वर्षको अवधिमा १७९ वटा घरपालुवा पशुको क्षति भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । सबैभन्दा बढी चितुवाको आक्रमणबाट १४० वटा पशुको क्षति भएको छ । बाघको आक्रमणबाट ३७ र अजिङ्गरबाट दुई वटा पशुको क्षति भएको सूचना अधिकारी रानामगरले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका २३ वटा घरमा हात्तीले क्षति पुर्‍याएको छ । निकुञ्जका अनुसार गत आवमा मात्रै १३ वटा घरको अन्न भण्डारमा हात्तीले क्षति गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।