२०८२ कार्तिक २१ शुक्रबार
२०८२ कार्तिक २१ शुक्रबार

फ्री वाई-फाई हटस्पट सञ्चालन नगर्न दूरसञ्चार प्राधिकरणको कडा निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले जथाभाबी वाई-फाई हटस्पट सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायकहरूमाथि कारबाही गर्ने चेतावनी दिएको छ । हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ का प्रावधानविपरीत केही सेवा प्रदायकहरूले वाई-फाई हटस्पट सञ्चालन गरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको हो ।

प्राधिकरणका अनुसार आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभूत टेलिफोन सेवाको अनुमति पाएका सेवा प्रदायकहरूले मात्रै वाई-फाईको माध्यमबाट सिमलेस कनेक्टिभिटी/रोमिङ/मोबिलिटी (Seamless Connectivity/ Roaming/ Mobility) प्रदान गर्न सक्नेछन् । तर, यीबाहेक अन्य लाइसेन्स प्राप्त सेवा प्रदायकहरूले हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ ले तोकेका शर्तअनुसार मात्रै वाईफाई हटस्पट सेवा सञ्चालन गर्न प्राधिकरणले सचेत गराएको हो ।

प्राधिकरणबाट आधारभूत दूरसञ्चार सेवाको अनुमति नेपाल टेलिकमले मात्रै पाएको छ । मोबाइल टेलिफोन सेवाको लाइसेन्स एनसेल र टेलिकमले पाएका छन् भने आधारभूत टेलिफोन सेवाको लाइसेन्स यूटीएलसँग मात्रै छ ।

विनियमावलीको विनियम २ (ङ) र २ (च) मा परिभाषित निश्चित क्षेत्र वा परिधिभित्र वाई-फाई हटस्पट सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, विनियम ५ (१) अनुसार एक पटकको लग-इनबाट निश्चित समयावधि वा मात्राका लागि वाई-फाई हटस्पट सेवा प्रयोग गर्न सक्ने व्यवस्था छ । तर, इन्टरनेट सेवा प्रदायकहरूले यी प्रावधान उल्लङ्घन गरेको भन्दै प्राधिकरणले सचेत गराएको छ ।

साथै, प्राधिकरणले वाई-फाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति, २०८० को दफा ७.४, अनुसूची ४ बमोजिम पावर लिमिट, ब्याकहल/ब्याकबोन रेस्ट्रिक्सन (Power Limit, Backhaul/ Backbone Restriction) लगायतका शर्तहरू अनिवार्य पालना गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । शर्तहरू पालना गरेर प्राधिकरणबाट टाइप-एप्रुभल भएका रेडियो उपकरणहरू मात्र प्रयोग गर्न समेत भनिएको छ ।

नेपालमा वाई-फाई हटस्पटको सबैभन्दा ठुलो सञ्जाल इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको छ । वर्ल्डलिंकले ‘वाईफाई एक्सप्रेस’को नाममा देशभर १४ हजारभन्दा बढी निःशुल्क वाई-फाई हटस्पट सेवा सञ्चालन गरिरहेको छ ।

प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीसहितका उच्च अधिकारीहरूले वर्ल्डलिंकसहितका इन्टरनेट प्रदायकहरूलाई कानुनविपरीत वाई-फाई हटस्पट सञ्चालन नगर्न निर्देशन दिँदै आएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।