बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज बुधबार तीनजना मन्त्री नियुक्ति गरेका छन्।हिजो (साउन १३ गते) मात्र कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट हटाइएका मुख्यमन्त्री लामाले रिक्त स्थानमा ३ मन्त्री नियुक्ति गरेका हुन्।
उनले संसदीय दलमा आफ्नाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने सांसद इन्द्रबहादुर बानियाँको समूहलाई समर्थन गर्न पाँच मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेकामध्ये तीन स्थान परिपूर्ति गरेका हुन्।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाद्वारा आज बिहान नियुक्त तीन मन्त्रीलाई अहिले शपथ नखुवाउन सत्ता साझेदार दल एमालेले आग्रह गरेको छ।शपथ ग्रहणका लागि तयारी भइरहेका बेला एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोन गरेर तत्काल शपथ नखुवाउन भनेका हुन्।
मंगलबार कांग्रेसको बागमती संसदीय दलको नेताबाट हटाइएका मुख्यमन्त्री लामाले आजै बिहान गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्ति दिएका हुन्।
तर सत्ता साझेदार एमालेले शपथ नगराउन भनेपछि मुख्यमन्त्री लामा अलमलिएका छन्।
प्रदेशको राजनीति अप्ठ्यारो मोडमा रहेका बेला मन्त्री नियुक्ति गरेर शपथ खुवाउँदा गलत सन्देश जाने भन्दै आफूले अहिले त्यसो नगर्न भनेको नेता थपलियाले बताए।









