तेस्रोपटक टी–२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाली टिमले आज (असोज २२) आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
आजदेखि ओमानको अल अमेरतमा सुरु भएको प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन् ।
अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदान टर्फ–१ मा हुने यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।
आजको खेलपछि नेपालले समूह चरणको दोस्रो खेलमा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र जापानबीचको खेल शुक्रबार अल अमेरतमै हुने तालिका छ ।
छनोटअघि नेपालले तयारी स्वरुप टेस्ट राष्ट्र तथा दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको तीन खेलको शृंखला खेलेको थियो । युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको उक्त शृंखलामा नेपालले २–१ को ऐतिहासिक जित निकालेको थियो ।
यस्तै, ओमानमै भएको छनोटअघिको अभ्यास खेलमा नेपालले शतप्रतिशत जित निकालेको थियो । अभ्यास खेलमा नेपालले ओमानविरुद्ध ६ विकेटको र कतारविरुद्ध १६ रनको जित निकालेको थियो ।
कप्तान रोहित भन्छन्– तयार छौँ
छनोटअघि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक नतिजाबाट टोलीको मनोबल उच्च रहेको बताए । उनले शृंखलाको नतिजा ऐतिहासिक रहे पनि छनोटमा शून्यबाट सुरु गर्नुपर्ने बताउँदै आफूहरू त्यसका निम्ति तयार रहेको समेत बताए ।
“वेस्ट इन्डिज शृंखलाले एकदमै आत्मविश्वास दिएको छ हामीलाई । विशेषगरी पहिलो र दोस्रो खेलमा जसरी हामीले प्रदर्शन गर्यौँ । शृंखलामा हाम्रो बलिङ, ब्याटिङ र फिल्डिङ अब्बल रह्यो । तर, छनोटमा हामीले पुनः शून्यदेखि सुरु गर्नुछ । त्यो कुरा टिमले बुझेको छ र हामी तयार पनि छौँ,” कप्तान रोहितले भने ।
नेपाली क्रिकेट टिमले हालसम्म दुई पटकमात्र टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको छ । नेपालले यसअघि पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । जहाँ नेपाली टिम वर्तमान नेपाल क्रिकेट संघ (क्यान)का सचिवसमेत रहेका पारस खड्काको कप्तानीमा प्रतिस्पर्धामा उत्रिएको थियो ।
त्यसपछि नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । विश्वकपको यो संस्करणमा नेपाली टिमको नेतृत्व रोहितले नै सम्हालेका थिए ।
तीन टिमले विश्वकपमा स्थान बनाउने
विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता छ । जसबाट तीन टिमले मात्र आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् ।
समूह चरणमा नौ टिमलाई प्रत्येक समूहमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा छनोट हुनेछन् । सुपर–६ को शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउने छन् ।









