२०८२ कार्तिक २१ शुक्रबार
२०८२ कार्तिक २१ शुक्रबार

इजरायल र हमासबीच सहमति भएको ह्वाइट हाउसको घोषणा,विपिन जोशी पनि रिहा हुने आशा

इजरायल र हमास दुवैले अमेरिका नेतृत्वको गाजा शान्ति योजनाको पहिलो चरणमा सहमति गरेपछि इजरायली बन्धकहरू ‘धेरै चाँडै’ रिहा हुने अमेरिकाले जनाएको छ ।

हमासको कब्जामा एक नेपाली विपीन जोशी सहित २० जना जिवित बन्धक रहेको अनुमान गरिएको छ बुधबार राति मात्रै विपिन जोशी बोलिरहेको पुरानो भिडिओ सार्वजनिक भएको छ। योसँगै उनी जीवितै रहेको आशा गरिएको छ। तर भिडिओ दुई वर्ष पुरानो भएकाले उनको वर्तमान अवस्था अझै स्पष्ट भइसकेको छैन।  

 

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इजरायल र हमास दुवैले अमेरिका नेतृत्वको गाजा शान्ति योजनाको पहिलो चरणमा सहमति गरेको घोषणा गरेका थिए ।

ह्वाइट हाउसले ट्विटरमार्फत सार्वजनिक गरेको अर्को भिडियोमा पनि इजरायली बन्धकहरू ‘धेरै चाँडै’ रिहा हुने घोषणा गरिएको सीएनएनले जनाएको छ ।

गाजामा अझै बन्धक रहेका इजरायली नागरिक ओम्री मिरानका भिनाजु मोशे लाभीले भने, “आज राष्ट्रपति ट्रम्पले यो काम सम्पन्न गर्नुभयो । उहाँले हाम्रा प्रियजनहरू, बन्धकहरू घर फर्किँदै हुनुहुन्छ भनेर भर्खरै घोषणा गर्नुभयो ।”

लाभी मिरानकी पत्नी लिशासँग उभिएका देखिएका छन् । उनीहरू सँगै अन्य केही इजरायली बन्धकका परिवारका सदस्यहरू पनि रहेका छन् ।

बन्धक परिवारका सदस्यहरूले ट्रम्प र उनको प्रशासनलाई उनीहरूलाई घर फर्काउनका लागि गर्नसक्ने सबै प्रयास गरिरहेकोमा धन्यवाद दिएका छन् । 

यसैबीच, अमेरिकी अधिकारीका अनुसार यो सहमति इजरायली क्याबिनेटले अनुमोदन गरेपछि ७२ घण्टाभित्रै बन्धकहरू रिहा गरिनेछन् । वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एन१२ न्यूजले इजरायली क्याबिनेटले शान्ति सम्झौतालाई अनुमोदन गरेपछि ७२ घण्टाभित्र बन्धकहरूलाई रिहा गरिने बताएको छ ।

यसअघि ट्रम्पले लेखेका थिए, “इजरायल र हमास दुवैले हाम्रो शान्ति योजनाको पहिलो चरणमा सहमति गरेको घोषणा गर्न पाउँदा मलाई धेरै गर्व छ ।”

उनले भनेका थिए, “यसको अर्थ सबै बन्धकहरू धेरै चाँडै रिहा हुनेछन् र बलियो, दिगो र चिरस्थायी शान्तितर्फको पहिलो कदमको रूपमा इजरायलले आफ्ना सेनाहरूलाई सहमति भएको रेखामा फिर्ता लिनेछ ।”

‘गाजा शान्ति योजना विश्वका लागि महत्वपूर्ण दिन’
ट्रम्पले रोयटर्स समाचार एजेन्सीसँग कुरा गर्दै इजरायल र हमासबीच भएको सम्झौता विश्वका लागि महत्वपूर्ण दिन भएको बताएका छन् ।

“यो विषयमा सारा विश्व एकसाथ आएको छ, इजरायल, हरेक देश एकसाथ आएका छन् । यो उत्कृष्ट दिन भएको छ,” ट्रम्पले संक्षिप्त टेलिफोन अन्तर्वार्तामा भने ।

उनले थपे, “यो विश्वका लागि महत्वपूर्ण दिन हो । यो एक अद्भूत दिन हो, सबैका लागि अद्भूत दिन ।”

हमासले गर्‍यो बन्दीहरूको रिहाइका लागि सूची हस्तान्तरण
हमासले गाजा युद्धविराम योजना सम्झौताको एक अंगको रूपमा रिहा गरिने प्यालेस्टिनी बन्दीहरूको सूची हस्तान्तरण गरेको बताएको छ ।

हमासका वरिष्ठ अधिकारी जाहर जबारिनले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा भनेका छन्, “हमासले सम्झौताको प्रावधानअनुसार सहमति भएका मापदण्डहरूको पालना गर्दै प्यालेस्टिनी बन्दीहरूको सूची हस्तान्तरण गरेको पुष्टि गर्दछ ।” 

यसअघि, हमासका अर्का अधिकारी ताहेर अल–नुनुले हमास र इजरायलबीच रिहा गरिने बन्धक र बन्दीहरूको सूची पहिल्यै आदानप्रदान भइसकेको बताएका थिए ।

ट्रम्पको इजरायल भ्रमणको तयारी
ट्रम्पले बुधबार राति इजरायल र हमासबीच शान्ति फ्रेमवर्कको पहिलो चरणमा सहमति भएको घोषणा गरेपछि आफू आगामी दिनहरूमा इजरायल भ्रमण गर्नसक्ने सम्भावना रहेको बताएका छन् ।

एक इजरायली अधिकारीका अनुसार, आगामी हप्ताको सुरुमा ट्रम्पको सम्भावित भ्रमणका लागि इजलायलले तयारी गरिरहेको छ ।

ट्रम्पले यसअघि आइतबार मध्यपूर्वको यात्रा गर्नसक्ने बताएका थिए । तर, कुन देशको भ्रमण गर्ने भन्नेबारे उनले खुलाएका थिएनन् ।

यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्रम्पलाई इजरायली संसद् (नेसेट मा सम्बोधन गर्नका लागि औपचारिक निमन्त्रण दिएका थिए । 

सीएनएन

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।