२०८२ कार्तिक २१ शुक्रबार
२०८२ कार्तिक २१ शुक्रबार

राष्ट्र बैंकले शेयर बजारका सबै बाधा फुकाईदिए पनि किन छैन लगानीकर्तामा उत्साह?

लगानीकर्ताले लामो समयदेखि माग गरिरहेको मार्जिन कर्जाको व्यक्तिगत सीमा खारेज सँगै बैंकहरुले शेयर खरिद गरेर १ वर्षसम्म होल्ड गर्नुपर्ने प्रावधानलाई घटाएर ६ महिना पुर्याउन सर्कुलर जारी गरेपछि बिहीबारको बजार पहिलो ३ मिनेटमा ४ प्रतिशत अर्थात सेन्चुरीले बढ्यो ।

त्यसपछि भने विस्तारै शेयर सेलिङ बढेर अन्त्यमा २२.५९ अंकको वृद्धिमा नेप्से सीमित रह्यो । दशैंपछि दुई दिनको कारोबारमा १०० अंकभन्दा धेरैले घटेको थियो भने कार्यदलको सुझावअनुसार बुधबार राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि लगानीकर्तामा उत्साहको सञ्चार भएको थियो । त्यो उत्साह बिहीबारको कारोबारको अन्तिम समयसम्म टिक्न सकेन ।

बिहीबार शेयर बजार परिसूचक नेप्से २२.५९ अंकले बढेर २५८२.१८ बिन्दुमा पुगेको छ । बिहीबार कुल २५१ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा २०० कम्पनीको शेयरमूल्य बढेर बन्द भएको छ । त्यस्तै ४१ कम्पनीको सेयरमूल्य घटेर बन्द हुँदा १० कम्पनीको स्थिर छ ।

तरल राजनीतिक अवस्थाका बीच बजारमा लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको मार्जिन कर्जाको सीमा हटाउन, बैंकलाई ट्रेडिङ गर्न सहजीकरण गर्नेलगायतका नीतिगत परिवर्तन हुँदा पनि बजार बढ्न सकेन । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले लगानीकर्ताको माग बमोजिम राष्ट्र बैंकले नीतिगत सहजीकरण गरिदिएको भए पनि तरल राजनीतिक अवस्था, फेस्टिभ मुडमा रहेको लगानीकर्ताको अवस्था र असोज मसान्तको प्रेसरले बजारमा दबाब पर्दा बजारले सोचे अनुसार प्रदर्शन गर्न नसकेको बताए । उनले भने–‘लगानीकर्ताले मागे अनुसार मार्जिन कर्जाको सीमा हटे पनि तरल राजनीतिक अवस्था तथा फेस्टिभ मुड र मसान्तको प्रेसरले बजारलाई असर गरेको हो । तिहारलगत्तैको कारोबार भने सकारात्मक रुपमा अगाडि बढ्नेमा आशावादी छु ।’

धेरै लगानीकर्ताहरुले जेनजी आन्दोलनका कारण उद्योग व्यवसायलाई निरन्तरता दिनु भन्दा शेयर बजारलाई सुरक्षित मानेर आउने अपेक्षा गरेका छन् । अहिले बैकिङ प्रणालीमा तरलता थुप्रिएर बसेको छ । बैंकमा राखेको रकमले अत्यन्तै न्यून प्रतिफल दिइरहेको छ । यस्तो अवस्थामा शेयर बजार एक मात्रै विकल्प रहेको हुँदा बजार बढ्नै पर्ने दबाबमा रहेको बताउँछन् ।

गत साउनमा ३ हजारको विन्दु छोएपछि घट्न थालेको शेयर बजारमा जेनजी आन्दोलन र बाढी पहिरोको कारण क्रमिक रुपमा घट्दै जाँदा लगानीकर्ताले कमाउन सकेका थिएनन् । ऋणमा लगानी गर्ने लगानीकर्तालाई अहिले असोज मसान्तमा ऋणको व्याज बुझाउनुपर्ने प्रेसरका कारण पनि बजार बढ्न नसकेको लगानीकर्ता सुन्दर रायमाझीले बताए ।

लगानीकर्ता रोहन कार्कीले राष्ट्र बैंकको सर्कुलर एकदमै बजार मैत्री भएपनि सर्कुलर आएको समयका कारण त्यसले राम्रो पर्फम गर्न नसकेको बताए । उनले भने–‘जहिले पनि दशैं तिहारको बीचमा बजार साइडवेजमै बस्ने गरेको छ । बिहीबार बजार एकदमै उतारचढाव आउनुमा भने राष्ट्र बैंकको सर्कुलर र सेबोनको सुधारको कार्यक्रम अगाडि बढाउने भन्ने समाचारले भूमिका खेलेको छ । सर्कुलरको प्रभावमा एकथरी लगानीकर्ताले शेयर किने भने मसान्तको प्रेसरमा र विगतमा घटेको बेला शेयर किनेकाले शेयर बेच्दा उतारचढाब देखिएको हो ।’ लगानीकर्ताले माग गरेका अधिकांश नीति राष्ट्र बैकले सर्कुलर मार्फत लागू गरिसकेको हुँदा फेस्टिभ सिजन र मसान्तको प्रेसरपछि बजारले माथिल्लो विन्दु नै छुनेमा आशावादी रहेको उनले बताए।-merolagani

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।