नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उडड्यन प्राधिकरणले मनाङ एयर प्रालिको एयर अपरेटर सर्टिफिकेट (एओसी) अर्को सूचना जारी नभएसम्मको लागि निलम्बन गरेको छ । लोबुचे क्षेत्रमा आज भएको मनाङ एयरको एच १२५ हेलिकप्टर (९एन–एएनजे) दुर्घटनाको छानबिन गर्न चार सदस्यीय समिति गठन गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको छानविन गर्न समिति गठन गरेको हो । शनिबार बिहान ७ः३० बजे सोलुखुम्बु जिल्लाको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको हो ।दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र थिए । दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको हो । उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो । हेलिकप्टर के कारणले दुर्घटना भयो भन्ने गठित समितिको प्रतिवेदन पछि मात्रै थाहा प्राधिकरणले जनाएको छ ।
