२०८२ मंसिर २१ आईतवार
२०८२ मंसिर २१ आईतवार

चितवनको सौराहामा १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै चितवनको पर्यटकीय गन्तव्यलाई विश्व सामु पु¥याउने उद्देश्यले सौराहाको बाघमारा चौरमा महोत्सवको आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनामा पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव यस वर्ष आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुन लागेको हो ।

विसं २०५५ देखि सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवमा यस वर्ष हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी दिने लगायत कार्यक्रम गरिने भएकाे छ ।

महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, हात्ती मैत्री प्रतियोगिताहरू, सफारी टुरिजम प्रवर्द्धनका लागि पाहुनालाई हात्ती, जिप तथा डुङ्गा सफारी गराइने कार्यक्रम पनि तय भएकाे छ । महोत्सवमा ८० वटा हात्तीलाई सहभागी गराइने उनले जानकारी दिए ।

चितवनको पर्यटन, सम्भावना र चुनौतीसम्बन्धी अन्तक्रिया, विभिन्न प्रतियोगितालगायत कार्यक्रमहरु गरिने संयोजक थपलियाले बताए । उनका अनुसार चित्रकला प्रतियोगिता, मानव वन्यजन्तु सहअस्तित्व, पर्यापर्यटन र संरक्षणमा हात्तीको महत्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, हात्तीको महत्वबारे संरक्षकर्मी, वातावरणविद्, पूर्वसंरक्षण अधिकृतहरूको सन्देशमूलक सामग्री प्रदर्शन गरिने छ ।

महोत्सवले २५ देखि ३० प्रतिशत पर्यटकको आगमनमा बृद्धि हुने अनुमान आयोजकले गरेको छ । संयोजक थपलियाका अनुसार यस अवधिमा आएका पाहुनाका लागि क्षेत्रीय होटल सङ्घ र रेवान सौराहामा आबद्ध सदस्यहरूले होटल तथा रेष्टुरेन्टमा आवास र खानामा १० प्रतिशत छुट गर्ने सहमति भएको छ ।

महोत्सवमा २५ वटा विभिन्न सामग्रीसहितका स्टल (कक्ष) रहने क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओमप्रकाश पाण्डेले जानकारी दिए । सो अवधिमा २० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको उल्लेख गर्दै उनले जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीका रूपमा रहेको चितवनमा सफारी पर्यटनको विकासका लागि हात्तीबिना कल्पना गर्न नसकिने धारणा राखे ।

चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार सौराहा हो । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटक यहाँका होटलमा बस्ने गर्दछन् । यो निकुञ्ज सफारीका लागि विश्वमा प्रख्यात मानिन्छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दै छन् । खेल अपराह्न ३:३० बजे हुनेछ ।

सोमपाल कामीको कप्तानीमा चार वटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा मात्र जितेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

गत साता नेप्से परिसूचक साढे ४ प्रतिशत बढेर बन्द भएको छ। अघिल्लो साता २५६०.२९ विन्दुमा बन्द भएको नेप्से, गत साता ४.५२ प्रतिशत अर्थात ११५.७४ अंक बढेर २६७६.०३ विन्दुमा पुगेको छ।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये पाँचै कारोबार दिन नेप्से बढेको थियो।

प्रतिरोध क्षेत्रमा

गत साता नेप्से प्रतिरोध क्षेत्रमा रहेको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २६४५ देखि २६९० सम्म रहेको छ। आगामी दिनमा नेप्सेले सो क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेमा २४४० देखि २४९० को क्षेत्रमा टेवा पाउने देखिन्छ। तर, सो प्रतिरोध तोडेर उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा गत साता नेप्सेले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। साथै साताका सबै कारोबार दिनमा नेप्सेले हरियो मैनबत्ती बनाएको थियो। यसले गत साता बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ६ अर्ब ५० करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब १९ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २५.२४ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बुलिश प्रवृत्तिमा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। साथै, यी दुई रेखा बीचको दूरी फराकिलो हुँदै गइरहेको छ। गत साता नेप्सेको हिस्टोग्राम सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदचाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरबट जोन रहेको छ। यसले गत साता बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ। आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ। विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो।

विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो। विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो।

एप्पलले हालै सार्वजनिक गरेको नयाँ एक्सेसरिज ‘आईफोन पकेट’ को स्टक विश्वभर सकिएको छ । ‘मोजा जस्तो झोला’ भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना र ट्रोल गरिए पनि बिक्री खुला भएको केही दिनमै यो उत्पादन पूर्ण रूपमा बिक्री (सोल्ड आउट) भएको हो ।

गत १४ नोभेम्बरदेखि अमेरिका, बेलायत, चीन, जापान, फ्रान्स, इटाली, सिङ्गापुर र दक्षिण कोरियामा एप्पलको अनलाइन स्टोरमार्फत यसको बिक्री सुरु गरिएको थियो । प्रविधि सम्बन्धी जानकारी दिने पोर्टल ‘म्याक र्‍युमर्स’ का अनुसार अमेरिकामा बिक्री सुरु भएको केही समयमै यसको सबै स्टक सकिएको थियो । दक्षिण कोरिया लगायतका अन्य देशमा केही दिनसम्म सीमित कलर र साइजमा उपलब्ध भए पनि हाल विश्वभर नै यो पूर्ण रूपमा बिक्री भइसकेको छ ।

के हो आईफोन पकेट ?

‘आईफोन पकेट’ जापानमा निर्मित एक विशेष प्रकारको थैली हो, जसलाई ‘इसे मियाके’ को अनुसन्धान र विकासको नतिजाका रूपमा लिइएको छ । एप्पल डिजाइन स्टुडियोसँगको सहकार्यमा तयार पारिएको यस एक्सेसरिजमा ‘थ्रीडी-निटेड’ प्रविधि प्रयोग गरिएको छ । बहुउपयोगी मानिएको यो साधनले आईफोनलाई पूर्ण रूपमा छोप्न सक्छ । यसलाई तन्काएर स्क्रिन हेर्न, अन्य साना सामग्री राख्न तथा हातमा बोक्न वा शरीरमै लगाउन मिल्ने गरी डिजाइन गरिएको छ ।

अमेरिकामा यसको मूल्य १४९.९५ डलरदेखि २२९.९५ डलरसम्म तोकिएको थियो । यो छोटो र लामो गरी दुई साइजमा उपलब्ध गराइएको थियो । छोटो साइजमा लेमन, मन्डारिन, पर्पल, पिङ्क, पिकक, सफायर, सिनेमन र ब्ल्याक कलर भेरियन्ट उपलब्ध थिए भने लामो साइजमा सफायर, सिनेमन र ब्ल्याक कलर भेरियन्ट राखिएको थियो ।

एप्पलले ११ नोभेम्बरमा यसको घोषणा गर्दा विश्वभर मिश्रित प्रतिक्रिया आएको थियो । महँगो मूल्य र सामान्य डिजाइनलाई लिएर धेरैले यसलाई गिज्याएका थिए । यो ‘लिमिटेड एडिसन’ (सीमित संस्करण) एसेसरिज भएकाले अब यो पुनः स्टकमा आउँछ वा आउँदैन भन्ने विषयमा एप्पलले हालसम्म कुनै स्पष्ट जानकारी दिएको छैन ।-techpana

पूर्वी नवलपरासीको गैडाकोटमा पुस २५ गतेदेखि गैडाकोट महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ गैंडाकोटको आयोजनामा नारायणी नदी किनारमा हुने महोत्सव पुस २५ गतेदेखि माघ १० गतेसम्म महोत्सव हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

महोत्सवका संयोजक छविलाल कँडेलका अनुसार यसपटक महोत्सवमा नयाँ तथा परिमार्जित उत्पादनहरूको प्रतिस्पर्धात्मक प्रदर्शनका लागि नेपालका घरेलु, साना–मझौला तथा ठूला उद्योगहरूका साथै विदेशी वस्तु, पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य तथा अन्य स्थानीय उत्पादनसहित २५० वटा स्टल रहनेछन्। महोत्सवमा २ लाख दर्शक उपस्थिति हुने तथा २५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ।

महोत्सवलाई चार मुख्य भागमा विभाजन गरिएको छ—

प्रदर्शनी तथा बिक्री कक्ष

सांस्कृतिक तथा सांगितिक क्षेत्र

बाल उद्यान तथा मनोरञ्जन क्षेत्र

खानपान क्षेत्र

प्रदर्शनी कक्षमा छुट्टाछुट्टै परिसर बनाई अटोमोबाइल, बैंक तथा वित्तीय संस्था, मोवाइल–इलेक्ट्रोनिक्स र आईटी, निर्माण सामग्री, कृषि तथा जडीबुटी, पर्यटन, दैनिक उपभोग्य सामग्री, हस्तकला, तयारी पोशाक तथा जुत्ताचप्पललगायतका उत्पादन प्रदर्शनीमा रहने छन्।

महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरूको समेत सहभागिता रहनेछ। साथै, प्रत्येक दिन राष्ट्रिय तथा प्रदेशस्तरीय कलाकारहरूको प्रस्तुति, फेशन शो तथा विद्यालय र कला केन्द्रहरूको विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्। बाल उद्यान क्षेत्रमा विभिन्न साहसिक तथा मनोरञ्जनात्मक खेल, जलपरी, माछाका एक्वेरियम लगायत राखिने बताइएको छ।

१५ दिने महोत्सवले जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा परेको आर्थिक प्रभाव न्यूनिकरण गर्न तथा स्थानीय व्यवसाय उत्थानमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले आन्दोलनका नाममा निजी सम्पत्तिमा तोडफोड गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्ने उल्लेख गर्दै, गैँडाकोट महोत्सवलाई गण्डकी प्रदेशको विकास सम्भावनाको महत्वपूर्ण प्रतीकका रूपमा अघि बढाउन आग्रह गरे।

महोत्सवमा सांस्कृतिक तथा सांगितिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहनेछन् । महोत्सवमा प्रत्येक दिन राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थिती रहनेछ ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (मंगलबार) ७ डिग्री सेल्सियसमा झरेको छ।

यसअघि आजै बिहान ५:४५ बजे ७.४ डिग्री सेल्सियस देखिएको उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे ७ डिग्री सेल्सियसमा ओर्लिएको हो। आजको आधिकारिक न्यूनतम तापक्रम यही हो।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुमा बिहान ५:४५ बजे मापन गर्छ भने पछि फेरि ८:४५ बजे अपडेट गर्छ।

यस क्रममा महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम विवरण पनि दिएको छ। जसअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ५.५ डिग्री सेल्सियस छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

अत: माथिको सूचीमा न्यूनतम तापक्रम आजैका हुन् भने अधिकतम तापक्रम हिजो सोमबारका हुन्।

हेर्नुहोस्  तापक्रमको सूची:

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् ।

आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ ।

आयोगका अनुसार यही मङ्सिर १ गते १२, मङ्सिर २ गते पाँच, मङ्सिर ३ गते आठ, ४ गते आठ, ५ गते सात, ७ गते १६ राजनीतिक दल दर्ता भएका थिए । सोमबार नागरिक शक्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय समुन्नति पार्टी, जनादेश पार्टी, नेपाल दर्ता भएका थिए ।

आयोगमा कूल १३५ राजनीतिक दल दर्ता भएकामा निर्वाचन प्रयोजनका लागि बुधवारसम्म पुन:आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

बितेका चार महिनामा चितवन जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाको ज्यान गएको छ। जसमा २१ पुरुष, ६ महिला र २ बालबालिका छन्।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म २ सय २४ वटा सवारी दुर्घटना भएका हुन्।

ती दुर्घटनामा २९ जनाको मृत्यु भयो भने ४ सय ५६ जना घाइते भएका छन्।

यसरी दुर्घटनामा परेकामा सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन छन्।

उनका अनुसार चार महिनामा ३ सय ३३ वटा सवारीसाधन दुर्घटनामा परेका हुन्। तीमध्ये २ सय १ मोटरसाइकल छन्।

यस्तै जिप, कार ३४, शारीरिक शक्तिले चल्ने ३०, ट्रक, ट्यांकर २४, बस १५, टेम्पो १४ छन्। यसैगरी टिपर दुई, माइक्रोबस पाँच, ट्याक्टर चार र अन्य सवारीसाधन चारवटा यस अवधिमा दुर्घटनामा परेका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा दुई सय पाँचवटा सवारी दुर्घटना भएका थिए।

गत वर्षको तुलनामा यस वर्ष दुर्घटना धेरै भए पनि मानवीय क्षति भने कम भएको छ।

गत वर्ष सोही अवधिमा भएका दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो भने ४ सय १४ जना घाइते भएका थिए।

दुर्घटना न्यूनीकरणका लागि जिल्लामा छड्के जाँच, जनचेतना जगाउने कार्यक्रम गरिरहेको थापाले बताए।

फराकिला सडकमा तीव्र गति र मादक पदार्थ पिएर सवारीसाधन चालउँदा अहिले दुर्घटना बढेको उनले बताए।

सडकअनुसार सवारी चाप बढी हुनु र ट्राफिक नियमको पालना नगर्नुले पनि दुर्घटना बढेको उनले जानकारी दिए। रासस

नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) बिक्री गर्ने घोषणा गरेको हो।

मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।