अष्ट्रेलिया सरकारले विद्यार्थी भिसासम्बन्धी नियममा थप कडाइ गरेको छ । अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिना (१ जुलाई) देखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् । यी नियमहरू लागू भएसँगै भिसासम्बन्धी प्रावधानका केही छिद्रहरू प्रयोग गरेर अष्ट्रेलिया बसाइ लम्ब्याउन चाहने विदेशी विद्यार्थी बढी प्रभावित हुनेछन् ।

खासगरी विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अनिश्चितकालसम्म अष्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको मन्त्री ओनिलले स्पष्ट पारेकी छन् । गत १० महिनाको अवधिमा पर्यटक भिसाबाट विद्यार्थी भिसामा जानेको संख्या ३६ हजार रहेको मन्त्री ओनिलले विज्ञप्तमा उल्लेख गरेकी छन् ।

त्यस्तै, ग्राजुएट भिसा (टीआर) मा बसेका ३२ प्रतिशत विद्यार्थी पुनः विद्यार्थी भिसामा नै अष्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको उनले बताएकी छन् । यसअघि टुरिस्ट भिसामा अष्ट्रेलिया पुगेर त्यसलाई विद्यार्थी भिसामा बदलेर उतै बस्ने अभ्यास बढिरहेको थियो । अध्ययन सकेपछि पाइने ग्राजुएट भिसा (टीआर) को अवधि सकिएपछि पुनः विद्यार्थी भिसामा आवेदन दिएर यतै बस्नेको ठूलो सङ्ख्या रोक्न पनि यसले योगदान पुग्ने मन्त्री ओनिलले संकेत गरेकी छन् ।

यो पनि पढ्नुस् ।

अष्ट्रेलियन सरकारद्वारा अन्तर्राष्ट्रिय विधार्थी लागि थप कडाई, बैक व्यालेन्सभन्दा पढाईलाई प्राथमिकता