नेपालले कतारलाई  हात्ती उपहार दिन लागेको छ। कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती उपहार दिइने तयारी सरकारले गरेको छ।
1b.भ्रमित (अनलाईनका लागि)(900x100)

‘ ५ वर्षभन्दा कम उमेरका रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ को जोडी पठाउने निर्णय सरकारले गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। तिवारीले भने, ‘ पूर्ण तयारी भैसकेको अवस्था छ। दुईवटा लाने भनेको धेरै समय भैसके पनि कुन कुन पठाउने भन्ने निक्र्यौल भने लगभग एक महिनाअघि मात्रै भएको हो। उता लगेर प्रजनन् गराउन पनि हुने भएकोले एउटै उमेरका उत्रै ज्यानका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ पठाउने भन्ने निर्णय भएको हो। सोही अनुसार हामी तयारी अवस्थामै छौँ।’

निकुञ्जका सूचना अधिकारी तिवारीले भने, ‘नेपाल सरकारले ‘एमओयू’ गरेपछि कतार पठाउने प्रक्रिया सुरु हुन्छ।’

२०७५ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले गरेको प्रतिबद्धता अनुसार हात्ती उपहार दिइन लागिएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीप्रसाद ढुंगानाले बताए। प्रवक्ता ढुंगानाले भने,‘‘चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली कतार पुगेर अध्ययन गरेर आइसकेको छ।‘‘यद्यपि अहिले नै हात्ती पठाइहाल्ने स्थिति भने बनिसकेको छैन। राजासँगै हात्ती पठाउने होइन। दुई देशबीचको कागजी प्रक्रिया पूरा भएपछि मात्रै पठाउने हो।’

‘सबै प्रक्रिया मिलेपछि कतारले हात्ती अट्ने कन्टेनर बनाएर कार्गो विमान मार्फत लैजाने हो। यसको प्रबन्ध कतार सरकारले नै गर्छ, सहजीकरण नेपाल सरकारले गर्ने हो,’ उनले भने।

इमान्दार ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’
२०७६ माघमा पूर्वी चितवनको खगेन्द्रमली पोस्टमा जन्मिएका हात्तीको भाले छावा हो खगेन्द्रप्रसाद। खगेन्द्रप्रसाद अहिले सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा हुर्किंदै छन्। ५ वर्ष पुग्नै लागेका खगेन्द्रलाई जदुसिंह थारूले निरन्तर तालिम दिँदै हुर्काउँदै आएका छन्।

कोशीकलीले जन्म दिएपछि खगेन्द्रलाई तालिम केन्द्रमा राखेर प्रशिक्षण दिइएको थियो। हात्ती प्रजनन् तथा तालिम केन्द्रमा घुम्न पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्रमध्येको एक खगेन्द्रप्रसादले पर्यटकहरूलाई फूलमाला लगाइदिएर आशीर्वाद दिनुका साथै नमस्ते र ढोग गर्ने गरेको माहुतेहरूको भनाइ छ।

यता, चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा हुर्कंदै गरेकी रुद्रकली ५ वर्षको भई। हात्ती प्रजनन् केन्द्रमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली ३ महिनाको छँदा पूजाकलीको मृत्यु भएको थियो। पूजाकलीको मृत्युपछि उसलाई कुनै समस्या नहोस् भनेर कम्तीमा दुई जनाले रुद्रकलीको रेखदेख गर्दै आइरहेका छन्।

निडर स्वभावको रुद्रकलीलाई माहुतेले इमानदार हात्तीका रुपमा लिन्छन्। निकुञ्जका अनुसार खगेन्द्रप्रसादको तल १ हजार १ सय ९० किलोग्राम छ भने रुद्रकलीको तौल १ हजार २ सय किलो। दुवै स्वस्थ छन्। इमान्दार, स्वस्थ र विदेशमा पनि सहज रुपमा बस्न सक्ने भएकाले यी दुई हात्तीलाई उपहार स्वरुप पठाउन लागिएको हो।

हालसम्म नेपालले विभिन्न देशहरूलाई ४७ प्रकारका वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ भने १२० वटा घडियाल र मगर गोहीका अन्डा उपहार दिएको छ। सरकारले हालसम्म सबैभन्दा धेरै २६ वटा गैँडा उपहार दिइएको छ।-nepalkhabar